यूएई जाने कामदारको भर्ना प्रक्रियामा लाग्ने सबै खर्च रोजगारदाताले बेहोर्ने
संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली कामदारले अब भर्ना प्रक्रियामा लाग्ने खर्च तिर्नु नपर्ने भएको छ ।
नेपाल र युएई बीच भएको श्रम समझदारीमा व्यवस्था गरिएको दुई देशका अधिकारी सम्मिलित संयुक्त समितिको १७ र १८ कात्तिकमा काठमाडौंमा सम्पन्न बैठकबाट अरब जाने कामदारको भर्ना प्रक्रियामा लाग्ने सबै खर्च रोजगारदाताले बेहोर्ने समझदारी भएको हो ।
दुई देश बीच ३१ जेठ २०७६ मा श्रम समझादारी भएको थियो ।
१७ र १८ कात्तिकमा सम्पन्न बैठकमा भएको समझदारी अनुसार यूएई कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आउने–जाने हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परिक्षण लगायतका शुल्क रोजगारदाताले नै बेहोर्नुपर्नेछ ।
तर, नेपाली श्रमिकले युएई जाँदा वैदेशिक रोजगार कल्याण कोषमा जम्मा गर्ने शुल्क र नेपालमा हुने बीमामा शुल्क भने आफैले बेहोर्नु पर्नेछ ।
समझदारी अनुसार कामदारले रोजगारदातासँग भएको सहमति कार्यान्वयन नभएमा रोजगारदाता परिवर्तन गर्न पाउने, पारिश्रमिक, अतिरिक्त समय, सुरक्षित कार्य वातावरण तथा न्यायमा सहज पहुँच, गुनासो सुनुवाई लगायतका विषयमा अन्य विदेशी कामदार सरह समान व्यवहार गरिने भएको छ ।
महिला कामदारको सुरक्षामा विशेष व्यवस्था जस्ता कामदारको हकहित र सुरक्षाका विषयमा पनि समझादारी भएको छ ।
बैठकमा घरेलु कामदारको सुरक्षाका विषयमा पनि छलफल भएको थियो । घरेलु कामदारको सुरक्षाका विषयमा भएका कानुनी व्यवस्थाको बारेमा थप छलफल गर्ने गरि सहमति जुटेको छ ।
उक्त सझदारिलाई कार्यान्वयनमा ल्याउनका लागि दुबै पक्षबीच समझदारी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप–सचिव उमेश ढुङ्गानाले १९ कात्तिकमा जारी विज्ञप्तीमार्फत जनाइएको छ ।
पछिल्लो समझदारीमा भएका विषय कार्यान्वयनमा ल्याउनका लागि दुबै देशले सम्पर्क विन्दु समेत तोकेका छन् ।
यसअघि मलेशिया जाने कामदारको भर्ना प्रक्रियामा लाग्ने सबै खर्च रोजगारदाताले बेहोर्ने गरि नेपाल र मलेशिया सरकारबीच श्रम समझादारी भइसकेको छ ।