दुई वर्षसम्म बस्न दिएर प्रदेश प्रमुखहरुलाई सम्मान गर्याैं: दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश प्रमुख परिवर्तन हुनु स्वाभाविक प्रक्रिया भएको बताएका छन्।
प्रेस संगठन बाँकले नेपालगञ्ज विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले प्रदेश प्रमुख परिवर्तनलाई सामान्य रुपमा लिनुपर्ने बताए।
“प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि भएकाले सरकार परिवर्तन हुनासाथ फेर्ने प्रचलन सामान्य हो, सरकारले दुई वर्षपछि मात्र यो परिवर्तन गरेको छ” दाहालले भने, “यसलाई ठूलो ठान्नुपर्ने र के के न भयो भन्नुपर्ने केही छैन।”
नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई दुई वर्षसम्म परिवर्तन नगर्नु नै सरकारले उहाँहरु (प्रदेश प्रमुखहरु) प्रति सम्मान गरेको अध्यक्ष दाहालले बताए।
“अन्य देशमा पनि सरकार परिवर्तनसँगै प्रदेश प्रमुख पनि फेरिने प्रचलन छ, सरकारले प्रदेश प्रमुख परिवर्तन गर्नु स्वभाविक हो”, दाहालले भने ।
पछिल्लो समय आफू जनताका कुरा सिंहदरबार पुर्याउने अभियानमा लागेको उल्लेख गर्दै उनले आगामी मंसीरमा हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवारको जित सुनिश्चित भएको जिकिर पनि गरे ।
“उपनिर्वाचनको तयारी भएको छ, हामीले सर्वसम्मतरूपमा उम्मेदवार टुङ्गो लगाइसकेका छौँ” दाहालले भने, “उम्मेदवारलाई जिताउन पार्टी र जनसङ्गठनका सबै तह र तप्का खटिएका छन्, हाम्रो जित सुनिश्चित छ।”