'आत्ममुग्ध व्यक्ति खुशी र बढी सफल'
कतिपय व्यक्तिले फेसबुकको आफ्नो तस्वीरमै 'लाइक' गरेको वा आफ्नो लागि आफू विशेष रहेको भावसहित फोटो पोस्ट गरेको देख्दा हामी अस्वाभाविक मान्छौं। यसलाई कतिले अनावश्यक 'नाटक' को संज्ञा पनि दिन्छन्। यस्तो हर्कत हामीलाई अनौठो र अपाच्य लागे पनि यस्ता व्यक्तिहरुले सुखद जिन्दगी जिउने अध्ययनले देखाएको छ।
आत्ममुग्धको अर्थ हो, आफैंप्रति मुग्ध वा दंगदास रहने। आत्ममुग्ध व्यक्तिहरुले आफूलाई आवश्यकताभन्दा बढी महत्व दिन्छन् र सबैको आकर्षणको केन्द्र बन्न रुचाउँछन्।
उत्तरी आयरल्यान्डको क्विन्स युनिभर्सिटीमा मनोवैज्ञानिकहरुले नार्सिसिज्म (आत्ममुग्धता) बारे गरेको अनुसन्धानबाट के पत्तो लाग्यो भने, आत्ममुग्ध व्यक्ति हत्तपत्त तनाव र डिप्रेशनको शिकार हुँदैनन्। आत्ममुग्ध व्यक्तिहरुको हर्कतले अरुलाई हैरान पारे पनि उनीहरुले त्यसको परवाह नगर्ने पनि अध्ययनमा पाइएको थियो। यसै कारण आत्ममुग्धतालाई सामाजिक व्यवहारमा राम्रो मानिंदैन।
लाभदायक 'अँध्यारो पाटो'
मनोवैज्ञानिकहरुले आत्ममुग्ध व्यक्तिहरुलाई गरेको परिभाषा अनुसार 'उनीहरु अहङ्कारी हुन्छन्, आफूलाई हरेक कुरामा अरुभन्दा राम्रो ठान्छन्, बढी नै आत्मविश्वास हुन्छ, अरुको दुःख-पीडा कम बुझ्छन् र लाज र पछुतो कम मान्छन्।'
यी तमाम नकारात्मक आदत भएर पनि आत्ममुग्ध व्यक्तिहरु राम्रो अवस्थामा रहन कसरी सम्भव छ भन्ने जान्न मनोवैज्ञानिकहरु प्रयासरत छन्।
आत्ममुग्धतालाई मनोवैज्ञानिकहरु मानिसको 'अँध्यारो पाटो' मान्छन्। यसलाई एक किसिमको डिसअर्डर 'साइकोप्याथी' र 'स्याडिज्म' (अरुको दुःखमा खुशी हुने आदत) जस्तै मान्नेहरु पनि छन्।
भर्खरैको अनुसन्धानबाट आत्ममुग्ध व्यक्ति कार्यक्षेत्र र निजी जिन्दगीमा बढी सफल हुने देखिएको छ।
आत्ममुग्ध व्यक्तिमा एक किसिमको 'मानसिक बल' हुन्छ, जसबाट उनीहरु निराशाबाट तत्काल बाहिर निस्किन सक्छन्। अनुसन्धानको अगुवाइ गर्ने मनोवैज्ञानिक डा. कोस्टास पैपाजर्जको भनाइमा उनीहरु प्राय: अरुको विचार र व्यवहारलाई आफू विरोधी मान्छन्। यस्ता व्यक्तिहरु कतिपय अवस्थामा असुरक्षाको भावनाबाट घेरिएका हुन्छन्।
डा. कोस्टास भन्छन्, "यी सबै नकारात्मक पाटोको वावजुद आत्ममुग्ध व्यक्तित्वका मानिस कैयौं प्रकारका लाभमा रहन्छन्।" - बीबीसी