थप समाचारमंगलबार, १९ कार्तिक , २०७६

उपनिर्वाचनका लागि कास्कीमा चहलपहल

रासस

आगामी मङ्सीर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी चहलपहल बढेसँगै निर्वाचन कार्यालयले पनि तयारी तीव्र पारेको छ।

कास्कीका जिल्ला निर्वाचन अधिकारी महेन्द्र सुवेदीले निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको जानकारी गराउँदै निर्वाचनका लागि २२ जना मतदाता शिक्षा स्वयंसेविका खटाउन लागिएको बताए। पोखरा महानगर अन्तर्गत ११ वडा यस निर्वाचन क्षेत्रमा पर्ने भएकाले प्रत्येक वडामा दुई–दुईका दरले मतदाता स्वयंसेविका परिचालन गरिने उनले जानकारी दिए।

मतदाता स्वयंसेवी छनोट प्रक्रिया बढिसकेको र उनीहरूलाई आवश्यक तालिम दिएर मङ्सीर पहिलो साता सम्बन्धित वडामा पठाइसकिने निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिनिधिसभाका लागि कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन हुनलागेको हो।

निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रवीन्द्रकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवारका रुपमा अघि सारेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उम्मेदवार तय गर्न बाँकी छ।

अन्य राजनीति दलमध्ये साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारीलाई उम्मेदवारका रूपमा अघि सारेको छ। त्यस्तै, समाजवादी पार्टीले धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ ।

कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि ७१ हजार ८७१ मतदाता छन्।

प्रतिकृया दिनुहोस