नयाँ प्रदेश प्रमुखहरुको सपथ आज
सातै प्रदेशमा नियुक्त भएका नयाँ प्रदेश प्रमुखहरुले आज सपथ लिंदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएपछि उनीहरुले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्।
सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले सोमबार नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेकी हुन्। प्रदेश १ मा सोमनाथ अधिकारी 'प्यासी', प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त नियुक्त भएका छन्।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले यी सात जनाको नाम छनोट गरेको थियो।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले आइतबार सातै प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी थिइन्।