बारा: घाँटी रेटेर हत्या गरिएको अवस्थामा दुई युवकको शव फेला
बाराको हरैया गाविसमा पर्ने जंगलमा हत्या गरिएको अवस्थामा दुई युवकको शव फेला परेको छ ।
हरैया–१ मा पर्ने सहजनाथ मन्दिरभन्दा डेढ किलोमिटर उत्तरपूर्वमा रहेको गोरेटो बाटोमा हत्या गरेर फालिएको अवस्थामा दुई जना युवकको शव १३ पौष विहान फेला परेको हो ।
पूर्वपश्चिम राजमार्गबाट १४ किलोमिटरको दूरीमा दुवै युवकको हात खुट्टा बाँधेर घाटी रेटी हत्या गरेको अवस्थामा शव भेटिएको हो ।
मृतकमध्ये एक जना भारत बिहारको पूर्वी चम्पारण लक्ष्मीपुर पोखरीयाका अन्दाजी १७ वर्षीय दीपक राम रहेको र अर्काको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
“खल्तीमा भेटिएको भारतीय आधार कार्डबाट दीपकको पहिचान खुल्यो, अर्कोको पहिचान खुल्न सकेको छैन,” घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले भने “दीपक रुखमा बाँधिएको अवस्थामा र अर्काको हात पछाडि पेटीले बाँधेर, दुवैको घाँटी रेटी हत्या गरिएको जस्तो देखिएको छ ।”
उनले शवको प्रकृति हेर्दा तीन चार दिन पहिले नै हत्या गरेको हुनसक्ने पनि जानकारी दिए ।
घटनास्थलबाट एक थान छुरा समेत बरामद भएको प्रहरीले जनाएको छ ।
दुवै युवकको अपहरणपछि हत्या गरिएको हुन सक्ने आशंका गरिएको नारायणी अञ्चल प्रहरी कार्यालय वीरगञ्जका प्रहरी वरिष्ठ उपरीक्षक नारायणसिंह खड्काले बताए ।
बुधबार बिहान जंगलमा घाँस–दाउरा लिन गएका स्थानीयले शव देखेपछि प्रहरी चौकी मधुवनमा खबर गरेका थिए ।
दुवै युवकको शव पोष्टमार्टमका लागि बाराको कलैयास्थित जिल्ला अस्पताल लगिएको छ ।
मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाबाट तालिम प्राप्त कुकुर समेतको प्राविधिक प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
सुरेश बिडारी, वीरगञ्ज