समाचार सोमबार, कात्तिक १८, २०७६

सर्वस्वसहित जन्मकैदको माग गर्दै आलम विरुद्ध मुद्दा दर्ता

हिमालखबर

सरकारी वकिलको कार्यालय रौतहटले मोहम्मद आफताव आलम विरुद्ध सर्वस्वसहित जन्मकैदको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

जिउँदै मान्छे जलाएको प्रमाण पेश गर्दै प्रहरीले सिफारिस गरेअनुसार, आलमलाई सर्वस्वसहित जन्मकैदको माग गरिएको छ ।

घाइतेहरुलाई जिउँदै जलाएको आरोप प्रमाणित हुँदा अभियुक्तले सर्वस्वसहित जन्मकैदको सजाय पाउने कानूनी व्यवस्था छ ।

२७ चैत २०६४ को राति त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जन बढी व्यक्तिलाई इटाभट्टामा जिउँदै जलाएर क्रुर मानवताविरुद्धको कसूर अपराध गरेको अभियोगपत्र दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालयले आमलका भाई शेख भदई, मोहम्मद मोविन आलम, शेख शेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन र गौरीशंकर साह विरुद्ध समेत अभियोग पत्र दर्ता गरेको छ । आलम बाहेक अन्य भने फरार छन् ।

आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानूनी रुपमा बिस्फोटक पदार्थ राखेको अपराधमा समेत कार्बाही चलाउन माग गरिएको छ ।

प्रतिकृया दिनुहोस