नेकपा सचिवालय बैठक जारी, आजै नयाँ प्रदेश प्रमुख टुंग्याइने
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मध्यान्हबाट शुरु भएको बैठकमा नयाँ प्रदेश प्रमुख चयनको विषयमाथि छलफल हुँदैछ ।
नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार, यो बैठकबाटै प्रदेश प्रमुखहरुको नामावली टुंगो लगाउने तयारी छ । “प्रदेश प्रमुख नियुक्तिका लागि केही नामहरु प्रस्तावित छन् । त्यसमा केही थपघट गरेर निर्णय हुन्छ”, उपप्रमुख थापाले भने ।
सचिवालय बैठक पछि मन्त्रिपरिषद बैठक बोलाइएको छ । सचिवालयले टुंगो लगाएको नाम मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई सिफारिस गरिनेछ ।
आइतबार मात्रै ३ माघ २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सवै प्रदेश प्रमुखलाई पदमुक्त गरेकाले रिक्त पदका लागि नेकपाले नियुक्ति प्रक्रिया अगाडि बढाएको छ ।