टी-२० मा भारत विरुद्ध बाङ्लादेशको ऐतिहासिक जित
बाङ्लादेशको क्रिकेट टोलीले टी-२० स्पर्धामा भारतीय टोलीलाई उसकै घरेलु मैदानमा पराजित गर्दै इतिहास रचेको छ। टी-२० खेलमा भारतलाई पहिलो पटक पराजित गर्दा बाङ्लादेशका लागि मुशफिकुर रहिमले उत्कृष्ट प्रदर्शन गरे।
आइतबार दिल्लीमा भएको खेलमा भारतीय बलरको प्रदर्शन निराशाजनक रह्यो। भारतीय ब्याट्सम्यानले पनि आफ्नो प्रतिष्ठा अनुसारको प्रदर्शन देखाउन सकेनन्।
शुरुआती बलिङ गरेको भारतीय टोलीले बाङ्लादेशसामु १४९ रनको चुनौती पेश गरेको थियो। जुन लक्ष्य बाङ्लादेशले तीन बल बाँकी छँदै पूरा गरेर खेल आफ्नो पोल्टामा पार्यो।
भारतको तर्फबाट शिखर धवनले सबैभन्दा बढी ४१ रनको योगदान गरेका थिए। तर मध्यक्रमका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन्।
श्रेयस अय्यरले २२ र ऋषभ पन्तले २७ रन बनाउँदा अन्तिम ब्याटिङ गरेका क्रुणाल पण्ड्या र वाशिंटन सुन्दरले क्रमश: १५ र १४ रन जोडेका थिए।
भारतीय टी-२० टोलीका बलरहरुको कमजोर प्रदर्शनको भरपूर फाइदा बाङ्लादेशका ब्याट्सम्यानले उठाए। यो प्रतियोगिताको नायक बनेका बाङ्लादेशका विकेटकिपर बलर मुशफिकुर रहिमले ४३ बलमा ६० रन बनाएर आफ्नो टोलीको जित पक्का गरेका थिए। यस्तै, सौम्य सरकारले ३९ र मोहम्मद नइमले २६ रनको योगदान गरेका थिए।
अहिलेसम्म भारत र बाङ्लादेशले टी-२० का आठ वटा म्याच खेलेकोमा सात वटा भारतले जितेको थियो।