'सरकारलाई भेटी दिएर होइन, गुठीको सम्पत्ति संरक्षण गरेर खुसी पार्नुस्'
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले कुनै भेटीको अपेक्षा नगरेको भन्दै गुठी संस्थानको सम्पत्ति संरक्षण गरेर खुसी बनाउन आग्रह गरेकी छन्।
आइतबार काठमाडौंमा गुठी संस्थानको ५६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले गुठीको जग्गा बचाएर, सुशासन कायम गराएर मन्त्रालयलाई खुसी गराउन संस्थानका नेतृत्वलाई निर्देशन दिइन्।
'माथि दिनुपर्छ' भन्ने मानसिकता त्याग्न आग्रह गर्दै मन्त्री अर्यालले कसैले भेटीबाट मन्त्रालयलाई खुसी बनाउन नपर्ने बताइन्। उनले भनिन्, "गुठी संस्थान हिजो जस्तो होइन, अब समयानुकूल प्रतिबद्ध भएर लाग्नुपर्छ।"
संस्थानको कार्यक्षेत्रको अस्तव्यस्तता र सुशासनसँग जोडिएका विषय हेर्दा चिन्ताजनक रहेको भन्दै उनले नेतृत्वले काम बेस्सरी गरेको बताए पनि विश्वास गर्ने अवस्था नबनेको बताइन्।
संस्थान गठन भएको ५५ वर्ष पूरा हुँदा समेत गुठीको सम्पत्ति यति हो भनेर भन्न नसक्नु दु:खद भएको भन्दै मन्त्री अर्यालले चिन्ता व्यक्त गरिन्। "नेपालमा सबैभन्दा बढी सम्पत्ति भएको संस्था गुठी संस्थान नै हो । तर आजसम्म हाम्रो सम्पत्ति हाम्रो जग्गा यति छ भनेर यकिन गर्न सकेनौं", उनले भनिन्, 'कहाँ-कहाँ के-कति जग्गा मिचियो भन्नेबारेमा कुनै अभिलेख छैन । अब कित्ता अनुसार रेकर्ड राख्नेतर्फ लाग्नुस्।"
सुशासनका विषयलाई लिएर धेरै प्रश्न उठेको भन्दै मन्त्री अर्यालले गुठी जग्गाको संरक्षणका निम्ति खटाकइएका महन्थहरू नै गुठीको जग्गा मास्न लागेको विषयमा मन्त्रालयमा उजुरी आएको समेत बताइन्। यस विषयमा मन्त्रालयले छानबिन गरिरहेको भन्दै मन्त्री अर्यालले गुठी संस्थानलाई पनि अनुसन्धान गर्न आग्रह गरिन्।
मन्त्री अर्यालले गुठियारहरूको भावनामा चोट नपुगोस् भन्नेतर्फ मन्त्रालय संवेदनशील भएको भन्दै गुठियारलाई देखाएर व्यक्तिको निजी स्वार्थ पूरा गर्न लाग्ने तत्वप्रति भने मन्त्रालय होसियार रहेको समेत बताइन्। "गुठी भावनासँग जोडिएको विषय भएकाले संवेदनशील भएर काम गर्नुहोस्", उनले संस्थान नेतृत्वलाई आग्रह गरिन्।