महराको थुनछेक बहस: आज ३१ वकिलले बहस गर्ने
संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ।
आइतबार वादी पक्षका वकिलहरुको बहस सकिएपछि महरा पक्षका एक वकिलले मात्रै बहस गरे। महराका पक्षमा बहस गर्न ३२ वकिलले नाम दर्ता गरेपछि बाँकी बहस आज गर्ने गरी स्थगित गरिएको हो।
महरा पक्षका वकिलहरुको बहस सकिएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने भन्ने निर्णय लिनेछ। शनिबार महरालाई अदालतले पाँच घण्टा लामो बयान लिएको थियो।
सरकारी वकिलको कार्यालयले महरा बिरुद्ध जबर्जस्ती करणी सम्बन्धी अभियोग दर्ता गरेको छ।
मुलुकी अपराध संहिताको दफा २१९ (३) अनुसार १८ वर्ष माथिका महिलालाई करणी गरे न्यूनतम सातदेखि १० वर्षसम्म कैदको व्यवस्था छ। महराका हकमा यसको आधा मात्रै लागू हुँदा साढे तीनदेखि पाँच वर्षसम्म कैद सजाय हुन सक्छ।
तर, महरा सार्वजनिक पद धारण गरेका व्यक्ति भएकाले थप डेढी सजाय माग गरिएको छ।