सुकुटे दुर्घटनामा मृत्यु हुनेकाे संख्या १७ पुग्याे (अपडेट)
अरनिको राजमार्गकाे सुकुटेमा यात्रुवाहक बस दुर्घटना भई सुनकाेशी नदीमा खस्दा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
दोलखा मुडे देउरालीबाट काठमाडौं जान थालेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुईजनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरीका अनुसार मृतक १५ मध्ये नौ महिला, एक बालिका, दुई पुरुष र तीन बालक छन् । मृतकमध्ये सातको सनाखत भएको छ।
प्रहरीका अनुसार सनाखत हुनेमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिता केसी, त्रिपुरा सुन्दरी गाउँपालिका–४ सिन्धुपाल्चोककी २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका–३ की ५१ वर्षीया रत्नकुमारी राउत, सोही स्थानका तीन वर्षीय बालक सिसन तामाङ छन् । धुलिखेल अस्पताल र श्रीमेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङ छन् ।
दिउँसो सवा एक बजे भएको दुर्घटनामा अझैसम्म पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी उद्धारमा जुटिरहेका छन् ।
नदीमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकालिएकाे छ । बसभित्र कोही नभेटिएको प्रहरीले बताएको छ । यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतक संख्या अझै बढ्न सक्ने देखिएकाे छ ।
बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदीमा पुगेको थियो । बसमा ४० बढी यात्रु सवार रहेका बताइएको छ ।