समाचार आइतबार, कात्तिक १७, २०७६

प्रदेश प्रमुख पदमुक्त गरेर सरकारले द्वन्द्व निम्त्यायोः कांग्रेस प्रवक्ता शर्मा

हिमालखबर

आइतबारको मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गरेर सरकारले द्वन्द्व निम्त्याएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिक्रिया दिएको छ ।

हिमाल खबरसँग कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गलत निर्णय लिएको बताए । उनले भने, “सरकारले पूर्वाग्राही ढंगले काम गरेको छ । यसले दलहरुबीच द्वन्द्व सिर्जना गर्न बल पुगेको छ ।”

सरकारले गर्नुपर्ने काम नगरेर गर्नै नपर्ने काम गरेको प्रवक्ता शर्माले बताए । उनले भने, “सरकारमाथि नैतिक प्रश्न उठेको छ । सात जनाको लोभमा सरकार फस्नु हुँदैनथ्यो ।”

प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेर सरकारले निर्वाचन आचार संहिता समेत उल्लङ्घन गरेको उनले बताए । उपनिर्वाचनको आचारसंहिता लागू भएकाले अहिले पदमुक्त गर्न नमिल्ने उनले बताए ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ३ माघ २०७४ मा तोकेका प्रदेश प्रमुखहरुलाई आइतबारको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

सोही सिफारिस अनुसार, आइतबार साँझै राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी छन् ।

 

सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

प्रतिकृया दिनुहोस