ठूलो लक्ष्य पछ्याएको नेपाल यू–१९ को सम्मानजनक हार
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको एक दिवसीय क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले दिएको ३३५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल यू–१९ क्रिकेट टोलीले राम्रो प्रदर्शनका वापजुद हार बेहोरेको छ । एमसीसीसँग नेपाल यू–१९ ३८ रनले पराजित भयो । यो नेपालको यू-१९ ‘ए’ टोली हो ।
पहिलो ब्याटिङ गरेको एमसीसीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३४ रन बनाएको थियो । एमसीसीका ओपनरद्वय विल रोड्स र गोडलम्यानले ११० रनको साझेदारी गरेका थिए । सागर ढकालले गोडलम्यानलाई २२ रनमा आउट गर्दै पहिलो विकेट हात पारेका थिए ।
एमसीसीका लागि रोड्सले सर्वाधिक ९३ रन बनाए । त्यस्तै टम वेस्ट्लेले ६० रन र माइल हामोण्डले ६५ रन बनाए । नेपालका लागि शेर मल्ल र सागर ढकाल प्रत्येकले दुई विकेट लिए ।
जवाफी ब्याटिङमा आएको नेपालले ९ विकेट गुमाउँदै २९६ रन बनायो । नेपालका लागि हरिबहादुर चौहानले ५१ र रित गौतमले ४६ रन बनाए । अन्त्यमा आएका आकाश चन्द र शेर मल्लले आक्रामक रुपमा ब्याटिङ गर्दै क्रमशः ३० र २८ रन बनाए ।