मेडिकल काउन्सिलको अध्यक्षमा डा. कोइराला नियुक्त, स्वास्थ्य क्षेत्र सुधार्ने अवसर
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान काेइराला नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे हाे।
शिक्षा मन्त्रालयका अनुसार मन्त्रिपरिषद् बैठकले कोइरालालाई काउन्सिल अध्यक्षमा नियुक्त गरेको हो ।
उनी अहिले महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मुटु रोग विशेषज्ञका रूपमा कार्यरत छन् ।
यसअघि डा. कोइराला त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जको निर्देशक समेत बनिसकेका छन् ।
बाँस्कोटासँगै डा.कोइरालाको नाम पनि त्रिवि उपकुलपति पदका लागि मन्त्रालयले मन्त्रीपरिषदमा सिफारिस गरेको थियो ।
यसअघि काउन्सिलको अध्यक्ष रहेका डा. धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि काउन्सिलको अध्यक्ष पद रिक्त थियो ।
यस्तै, काउन्सिलको रजिष्टार डा. दिलीप शर्माको कार्यकाल पनि सकिएपछि अहिले रजिष्टार पद रिक्त छ ।
मेडिकल काउन्सिलको अध्यक्षमा डा. कोइरालालाई नियुक्त गरेपछि डा. बास्कोटालाई त्रिविको उपकुलपति बन्ने बाटो खुलेको छ ।
डा. बास्कोटाले काउन्सिलको कार्यकाल पूरा भएपछि त्रिवि उपकुलपति बन्न कसरत थालेका थिए ।
काउन्सिलको अध्यक्षमा नियुक्त डा. कोइरालालाई चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि जिम्मेवारी थपिएका छन् ।
काउन्सिलका पूर्व अध्यक्ष डा. बास्कोटाका अनुसार काउन्सिलको नयाँ नेतृत्वलाई हाल सञ्चालन भइरहेको कन्टिनिअस प्रोफेसनल डेभलप्मेन्ट (सीपीडी)लाई निरन्तर सञ्चालन गर्नुपर्ने, चिकित्सकहरूको लिइने लाइसेन्स परीक्षा सुधार्नुका साथै प्रयोगात्मक बनाउनु पर्ने, चिकित्सकको आचरणगत व्यवहार सुधार्ने जस्ता जिम्मेवारी थपिएको छ ।
उनी काउन्सिल अध्यक्षका लागि ‘अपरेसन क्वाक’माथिको छानबिन थप अघि बढाउनु पर्ने र नेपालको चिकित्सा शास्त्रको स्नातक र स्नातकोत्तर तहको डिग्रीलाई सबै देशमा मान्यता पाउनेगरी गृहकार्य थाल्नुपर्ने जस्ता चुनौतीहरू रहेको बताउँछन् ।