थप समाचारआइतबार, १७ कार्तिक , २०७६

छठ शनिबार, आइतबार सार्वजनिक विदा

हिमालखबर

छठको अवसरमा आइतबार पश्चिम नवलपरासीका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । रामग्राम नगरपालिका, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाले स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।

नेपाल सरकारले छठको दिन सार्वजनिक बिदा दिँदै आए पनि यस वर्ष छठको मुख्य दिन शनिबार परेको थियो । आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ समापन भएको छ ।

तर, अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रतालुहरु रातभर जाग्राम बसेको तथा यस पर्वमा ३६ घण्टा व्रत बसेका व्रतालुलाई एक दिन आरामका लागि बिदा गरिएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।

स्थानीय तहले बिदा दिन पाउने अधिकारलाई प्रयोग गर्दै तराईवासीले उत्साहका साथ मनाउने छठपर्वका अवसरमा एक दिन बिदा दिइएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिए ।

सदरमुकाम परासीस्थित झरही नदी किनारलगायत जिल्लाका सातै स्थानीय तहमा रहेका नदी, तलाउ, पोखरीमा अस्ताउँदो र उदाँउदो सूर्यलाई अघ्र्य दिएर छठपर्व मनाइएको छ ।

 

प्रतिकृया दिनुहोस