मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्रीको डायलासिस, सचिवालय बैठक अनिश्चित
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान एघार बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । गत बिहीबार बस्न नसकेको बैठक आज बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।
बैठक नियमित नै भएको उनले बताए । प्रधानमन्त्री ओलीले आफ्नै निवासमा बैठक बोलाएका छन् । अस्वस्थ्य भएका कारण प्रधानमन्त्री ओली निवासमै आराम गरिरहेका छन् ।
बैठकपछि प्रधानमन्त्री ओली डायलासिसका लागि ग्राण्डी अस्पताल जादैछन् । दुई पटक डायलासिस गरिसकेका प्रधानमन्त्री ओलीको आज तेस्रो डायलासिस गरिदैछ । प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट भने अस्पतालले दिएको छैन ।
रिपोर्ट पछि नै थप उपचारबारे निर्णय हुने अस्पतालले जनाएको छ ।
मन्त्रिपरिषद् बैठक र प्रधानमन्त्रीको डायलासिसका कारण आज बोलाइएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक भने अनिश्चित भएको छ । अहिलेसम्म स्थगित नगरिए पनि बैठक बस्ने संभावना न्यून रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
१४ मंसीरमा हुने उपनिर्वाचनका लागि उम्मेद्वार तय गर्न नेकपाले आज सचिवालय बैठक बोलाएको थियो ।
शनिबार सामान्य छलफल भएर आज टुंगो लगाउनेगरी स्थगित भएको थियो । शनिबारकै बैठकबाट कास्की–२, मा विद्या भट्टराईलाई उम्मेद्वार बनाउने लगभग टुंगो लागेको छ ।
रबिन्द्र अधिकारीको ताप्लेजुङ हवाई दुर्घटनामा मृत्यु भए पछि उनकै पत्नी भट्टराईलाई उम्मेद्वार बनाउने नेकपाले निर्णय लिएको हो ।