टिप्पणीशनिबार, १६ कार्तिक , २०७६

रैथाने छठको विश्व विस्तार

सञ्जय मित्र

तराई–मधेशमा श्रद्धाको रूपमा मनाइने लोक महापर्व छठको विश्व विस्तार भइसकेको छ । छठ पर्वको उद्गमस्थल नेपाल नै भएको धेरैलाई थाहा छैन । छठको प्रादुर्भावस्थल नेपालकै रौतहटको गढीमाई नगरपालिकाको समनपुरमा बागमती नदीको किनार भएको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।

छठ उत्पत्तिको मिथक:

महाभारतको समयमा १२ वर्षको वनबास र एक वर्षको अज्ञातबासको शर्तअनुसार पत्नी द्रौपदीसहित पाँच पाण्डवले वनबास सुरु गरे ।

वनबासको १२ वर्षको अवधि समाप्त भएपछि एक वर्षको अज्ञातबास हुने र अज्ञातबासको अवधिमा कौरव पक्षले फेला पार्न सके पुनः १२ वर्ष वनबास हुने शर्त थियो ।

पाण्डवको वनबास निकै कष्टपूर्ण थियो । यसको समय अन्तिमतिर आउन लाग्दा अज्ञातबास कसरी बिताउने भन्ने चिन्ता पाण्डवलाई हुन थालेको थियो । यसै क्रममा द्रौपदीले एक वर्षको अज्ञातबास पूरा होओस् भनी छठीमाईको कठिन व्रत गरिन् ।

द्रौपदीले अज्ञातबासको सफलताको कामना गर्दै व्रत बसेकाले अज्ञातबास निर्बिघ्न सफल भएको मानिन्छ । अर्थात् छठ पर्वको प्रारम्भ द्रौपदीबाट भएको लोकविश्वास छ ।

अज्ञातबास आरम्भस्थल:

पाण्डवहरूले अज्ञातबास राजा विराटको दरबारमा बिताएका थिए र राजा विराटको दरबार वर्तमान नेपालको विराटनगर क्षेत्रमा रहेको तथ्य सर्वविदित छ । कौरवका गुप्तचरहरूको नजरबाट बच्दै पाण्डवहरू विराटनगर पुगेका थिए । पाण्डवहरू विराटनगरतर्फ प्रस्थान गरेको ठाउँ रौतहटको समनपुरमा रहेको मानिन्छ ।

पाण्डवले अज्ञातबास आरम्भ गर्दा बनाएको सुरुङमाथि बनेको प्राचीन भीमेश्वर महादेव मन्दिर। 

समनपुरमा रहेको पौराणिक शिव मन्दिरबाट पाण्डवहरूले अज्ञातबास आरम्भ गरेको लोकविश्वास छ ।

यहाँ रहेको प्राचीन शिव मन्दिरभित्रको शिवको रूपमा पूजा गरिने ढुंगा रहस्यमय छ । ढुंगामाथि जति जल चढाउँदा पनि भित्र पसेर सुक्छ। ढुंगानजिकै मसिनो प्वाल छ जसमा चढाएको पानी सबै भित्र पस्छ ।

परम्परादेखि के विश्वास रहेको छ भने महादेव भनेर पूजा गरिने ढुंगा एउटा सुरुङमाथि रहेको छ । यो त्यही सुरुङ हो जसको भित्र पसेर पाण्डवहरू अज्ञात भए र भित्रभित्रै कतै निस्केर विराटनगरतर्फ प्रस्थान गरे ।

कौरवका गुप्तचरहरूको आँखा छल्न पाण्डवहरू पत्नी द्रौपदीसहित सुरुङमा पसेका थिए । सबैभन्दा पछाडि भीमसेन पसेका थिए । भीमसेन अन्तिममा सुरुङमा पस्दै ढुंगाले सुरुङको मुख बन्द गरेका थिए ।

भीमसेनले ढुंगा ल्याएको तथा उनले नै सुरुङको मुख छोपेको हुनाले महादेवको नाम पनि भीमेश्वर महादेव रहेको जनविश्वास छ ।

पाण्डवहरूको समनपुर आगमन:

प्रदेश ३ को अस्थायी राजधानी रहेको हेटौंडा सहरको नामकरण पनि महाभारतकै किंवदन्तीमा आधारित छ । पाण्डवहरू वनबासको क्रममा चुरे र महाभारतको बीचको त्यो खाली भूभागमा पुगेका थिए ।

त्यत्तिबेला हेडम्बा राक्षससित युद्ध हुँदा भीमसेनले हेडम्बालाई मारिदिए । हेडम्बा मारिएको ठाउँका रूपमा चिनिँदा चिनिँदै अपभ्रंश भएर त्यो स्थानको नाम हेटौंडा रहन गएको विश्वास रहेको रवीन्द्र घिमिरे र राजन दाहालले (२०७५ कात्तिक २८ मा त्यो हेटौंडा, यो हेटौंडा शीर्षकमा अनलाइनखबरमा) लेखेका छन् ।

हेडम्बाकी बहिनी हिडिम्बसित भीमसेनको बिहे भएको र निजबाट घटोत्कचको जन्म भएको थियो । घटोत्कचको भूमिका महाभारत युद्धमा पनि देखाइएको छ । भीमसेन आफ्नी पत्नी हिडिम्बसित जङ्गल–पहाड विचरण गर्दथे ।

सोही क्रममा चुरेको चोटिबाट भीमसेनले फालेको ढुंगा समनपुरसम्म आइपुगेको र सोही ढुंगालाई अज्ञातबास प्रारम्भ गर्दा सुरुङ पस्ने बेलामा सुरुङको मुख छोप्न भीमसेनले प्रयोग गरेको किंवदन्ती छ ।

हेटौंडामा प्रसिद्ध भुटनदेवी मन्दिर छ । यही भुटनदेवी नै भीमसेन पत्नी हिडिम्ब भएको पनि एकथरिको मत रहेको देखिन्छ ।

सूर्य पूजा र छठ पर्व:

कतिपयले छठ पूजा भनेको सूर्य पूजा हो भन्न थालेका छन् । पहिलो कुरो त छठ पूजा होइन, यो पाँच दिन मनाइने पर्व हो । छठको संकल्प कात्तिक शुक्ल द्वितीया तिथिमा गोवर्द्धन पूजाको दिनमा गरिन्छ ।

चौथीको दिन नहाखाएके (नुहाएर अर्बाअर्बाइन\चोखो) गरिन्छ, पञ्चमीको दिन खरना, षष्टी तिथिमा सँझियाघाट तथा सप्तमी तिथिमा भिनहिया घाट अर्थात् पारन\समापन गरिन्छ ।

छठ पर्वमा खरनाको दिन सम्पूर्णतः निराहार बसी राति घरमा छठी माईको पूजा गरिन्छ । खरना नगरी सँझियाघाटको व्रत गरिँदैन ।

सँझियाघाटको दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ र राति श्रीसप्ताको पूजा गरिन्छ र कोसिया पूजा हुन्छ । कोसिया पूजा छठको विशिष्ट पूजा हो।

सम्भव भएसम्म रातभरि जाग्राम बसिन्छ र सप्तमीको दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर व्रतको समापन गरिन्छ । छठमा मूलतः छठीमाईको पूजा हुन्छ । यसमा सूर्यलाई साक्षीमात्र राखिन्छ ।

छठीमाई र सूर्य:

सूर्यको पूजा विश्वभर विभिन्न धर्ममा विभिन्न नाममा अनेक किसिमले गरिन्छ । रामायणका नायक रामलाई पनि सूर्यवंशी मानिएको छ । रामका पुर्खाहरूले पनि सूर्यपूजा गर्दथे तर कतै छठ गरेको मानिएको छैन ।

हिन्दू धर्मावलम्बीले पनि विभिन्न किसिमले सूर्यको पूजा गर्दै आएका छन् । मधेसका अन्य लोकदेवताको पूजामा पनि सूर्यलाई अर्घ दिने प्रचलन प्राचीनकालदेखि चलनमा रहेको छ । छठीमाई लोकदेवी हुन् । छठीमाईको विषयमा कुनै पनि शास्त्रले प्रष्ट उल्लेख गरेको छैन ।

भीमेश्वर महादेव भनेर पुजिने सुरुङमाथिको ढुंगा

छठीमाई र सूर्यको सम्बन्धमा प्रचलित मिथकमा छठीमाईलाई सूर्यकी पत्नी मानिएको छ । पति सूर्यसित अढाई दिनको बिदा लिएर पत्नी छठीमाई माइती आउँछिन् । माइती आउने दिन खरना अर्थात् पञ्चमी हो र घर फर्किने दिन पारन अर्थात् सप्तमी हो ।

छठ पवनी गर्नेहरूले मूलरूपमा माइती आएकी छठीमाईलाई अनेक किसिमले पूजा गर्ने तथा आफूले पूजा गरेको हुँ भनेर सूर्यलाई साक्षी राख्ने गरेका हुन्छन् ।

छठ पूजाका सामग्री:

छठ पर्वको प्राचीन सामग्रीलाई हेर्ने हो भने सबै सामान रैथाने हुन्छन् । बाहिरबाट केही पनि किन्नु वा ल्याउनु नपर्ने तथा सम्पूर्ण सामग्री गाउँघरमै पाइने हुन्छन् ।

छठ पर्वको लागि चाहिने जलाशय हो । मूलतः बागमती नदीको किनारबाट यसको सुरुआत भएकोले आजसम्म नदीलाई नै प्राथमिकता दिइँदै आएको छ ।

छठीपूजाको लागि नभई नहुने सामग्री ठेकुआ, कसार, केरा, अदुवा, केराउ, उखु, निबुआ, अक्षता र तुलसीको पात हुन् ।

ठेकुआ पकाउन धानको चामलको पीठो, दूध वा घिउ, पानी, सख्खर र तेल चाहिन्छ । कसार पनि चामलकै पीठो र सख्खरबाट बन्दछ । माटोको चुलो, आँपको दाउरा पहिलेदेखि आवश्यक सामग्री हुन् ।

बजार क्षेत्रमा यसको ठाउँ ग्याँस चुलोले लिन थालेको छ । बाँसको चोयाबाट बन्ने छैंटीमा पूजाको सम्पूर्ण सामग्री राखेर लैजाने परम्परागत चलन छ।

छठपर्वमा प्रयोग गरिने पहिलेका सम्पूर्ण सामग्रीलाई हेर्ने हो भने पूर्णतया रैथाने देखिन्छन् । यसको विस्तारसँगै कालान्तरमा ल्वाङ, सुकुमेल, नरिवल, स्याउ, सुन्तला विस्तारै थपिँदै गएका हुन् । ठाउँ र उपलब्धताअनुसार यसका अन्य सामग्रीहरू थपिँदै गएका छन् ।

छठको विश्व विस्तार:

लोकमहाआस्थाको रैथाने छठले विश्वविस्तार पाइसकेको छ । रौतहटबाट सुरु भएको छठको विश्व विस्तारमा हजारौँ वर्ष लागेको छ ।

रौतहटको समनपुरमा तीन हजार वर्ष पहिले प्रसिद्ध चिनियाँ यात्री हु आन साङ केही समय आएर बसेको ऐतिहासिक खोजबाट देखिएको छ । लिच्छवीहरू समनपुरकै बाटो वैशालीबाट बागमतीको किनारै किनार नेपाल उपत्यका पुगेका थिए ।

महाभारत युद्धपछि कृष्ण पनि नेपाल उपत्यका यही बाटो गएको र नुनथरमा बास बसेको विश्वास छ । यसरी तिब्बतदेखि नेपाल उपत्यका हुँदै समनपुर भएर पाटलीपुत्रसम्म रहेको व्यापारिक कोरिडोरको मधेसी समुदायमा छठपर्वले विस्तार पाउँदै गयो ।

समनपुरदेखि पाटलीपुत्र विस्तार भएपछि मुख्य गरी नेपालको मध्य तराई तथा बिहारको मध्यभागबाट अन्य भागमा छठपर्वले विस्तार पायो ।

यस क्षेत्रबाट जो जहाँ जसरी गए पनि आफ्नो धर्तीको उपज महापर्व छठलाई सँगै लिएर जाने तथा सांस्कृतिक सम्मिलन हुने क्रममा यसले विश्व विस्तार पाउन सफल भएको देखिन्छ ।

रौतहटको समनपुरमा रहेको बागमती नदी जहाँ पहिलोचोटि द्रौपदीले छठ गरिएको लोकविश्वास छ। तस्वीर : सञ्जय मित्र

यसलाई विभिन्न धर्मावलम्बीहरूले पनि मान्न थालेको पाइएकोले लोक महाविश्वासको पर्व छठ आफैँमा धार्मिक सद्भावको पर्वको पहिचान पनि स्थापित गर्दै लगेको छ ।

हिडिम्ब\हिडिम्बाको निवास हेटौंडा हुनु, पाण्डवहरूले अज्ञातबास सुरु गर्नुभन्दा पहिले सुरुङमा लुकेको ठाउँ समनपुरमा हुनु तथा अज्ञातबास सफल बनाउन द्रौपदीले छठ पर्व गरेको लोकतथ्य पाइनु र पाण्डवहरूको अज्ञातबासको करीब सम्पूर्ण समय विराटनगर र आसपासमा बितेको पाइनु लगायत प्रमाणहरूको आधारमा लोकआस्थाको महापर्व छठको सुरुआत नेपालकै रौतहटको समनपुरबाट भएको हो भन्ने देखिन आउँछ ।

यसर्थ विश्वभरि फैलिँदै गएको छठ नेपालको मौलिक लोकपर्व र रौतहटको रैथाने पर्व हो भन्ने प्रष्ट छ।

 

प्रतिकृया दिनुहोस