समाचारशनिबार, १६ कार्तिक , २०७६

राष्ट्रपतिद्वारा गुह्येश्वरीमा छठी माताकाे पूजाअर्चना

रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले छठपर्वको उपलक्ष्यमा गुह्येश्वरीमा छठी माताको पूजाअर्चना गरिन्।

तस्वीर : रासस

छठपर्व मनाउन गौरीघाटदेखि गुह्येश्वरीसम्मको इलाकामा बाग्मती नदीको पानीको बहाव रोकेर निर्माण गरिएको तलाउको बीचमा स्थापित छठी माताको मन्दिरमा पुगेर राष्ट्रपति भण्डारीले पूजाअर्चना गरेकी हुन्।

छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने गरिन्छ । उक्त ठाउँमा नदीको दुवै किनारमा ६५० भन्दा बढी छठी माताको पूजाका लागि पूजाघाट निर्माण गरिएको छ । 

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको छठपर्व बिहीबारदेखि शुरु भएको हो । 

तराई–मधेशमा स्थायी घर भई काठमाडौँ उपत्यकामा विभिन्न पेशा व्यवसायमा संलग्न व्रतालु छठपर्व मनाउन र छठी माताको दर्शनका लागि ठूलो सङ्ख्यामा गुह्येश्वरी क्षेत्रमा पुगेका छन् ।

कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधाना गरी अर्घ्य दिने र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि छठपर्व समापन हुन्छ ।

राजधानीका गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, बाग्मती, बल्खु, नख्खु, विष्णुमतीलगायत नदी किनारमा पनि भव्यरूपमा छठपर्व मनाइँदै छ।

प्रतिकृया दिनुहोस