अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रदर्शनी बैशाखमा
१३ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रदर्शनी आगामी ७–११ बैशाखमा काठमाडौंमा हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गर्न लागेको मेलामा चीन, भारत, बंगलादेश, पाकिस्तान लगायतका देशमा विकास भएका प्रविधि समेत प्रदर्शन गरिने भएको छ ।
मेलामा औद्यौगीकरणका लागि उपयुक्त हुने प्रविधिका आविष्कारकहरूलाई पुरस्कृत र सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । औद्योगिक व्यापार मेला समेत भएको हुँदा प्रदर्शनीसँगै व्यापार समेत गरिने छ । उद्यमी र उद्यमी, अन्वेषणकर्ता र उद्यमीबीच अन्तरक्रिया एवं छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव प्रदर्शनीका थप आकर्षण हुनेछन् ।
७५ जिल्लाबाटै उद्यमीहरू एवं उपयुक्त प्रविधि प्रयोगकर्ता उद्यमीहरू, प्रविधि अन्वेषणकर्ताहरूको सहभागिता रहने प्रदर्शनीमा ३०० वटा स्टल रहनेछन् भने एक लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने महासंघको अपेक्षा छ ।
महासंघले विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग मन्त्रालय, कृषि मन्त्रालय, राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, रिकास्ट र विश्वविद्यालयहरूसँगको सहकार्यमा मेला आयोजना गर्न लागेको हो ।