समाचार शनिबार, कात्तिक १६, २०७६

छठको आज मुख्य दिन, अस्ताउँदो सुर्यलाई अर्घ दिएर मनाइँदै

सञ्जय मित्र

राैतहटमा छठ घाटकाे तयारी ।

छठको आज महत्वपूर्ण दिन । कात्तिक शुक्ल षष्ठी तिथिका दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइने छठ घाटको तयारी गरिसकिएको छ ।

मानवबस्ती नजिकको नदी, पोखरी, तलाउ तथा नहर समेतको किनारमा छठ घाट बनाई सजाइएको छ । सजावटमा लाखौँ खर्च गरिएको छ । विशेषगरी तराई मधेश लगायत ठाउँमा छठ घाटमा राति जाग्राम बस्ने व्यवस्था मिलाइएकाले छठ घाटको तयारीमा खर्च बढेको हो ।

सँझिया घाटको लागि नदी, पोखरी, ताल तथा नहरहरु सफा गरिएका छन् । बस्तीदेखि छठघाटसम्मको बाटो पनि सफा गर्नुका साथै सजाइएका छन् ।

शनिवार दिउँसो छठ घाटमा ब्रतालुहरु पुग्दैछन् । शुक्रबार दिनभर निराहार व्रत बसी साँझमा आफ्नो घरमा छठीपूजा गर्दै खरना गरेर प्रसाद ग्रहण गरेका व्रतालुहरु शनिवार दिनभर भोकै बसी दिउँसो जलाशयमा श्रीसप्तासहित बनाइएको घाटमा पुग्छन् ।

अस्ताउँदो सूर्यलाई अर्घ दिएर व्रतालुहरु घाटमै बसे पनि वा आफ्नो घर फर्केर भए पनि राति कोसिया पूजा गर्ने प्रचलन रहिआएको छ ।

प्रतिकृया दिनुहोस