महराको अदालती बयान सकियो, थुनछेक बहस आइतबार
संसद सचिवालयकी एक महिला कर्मचारीलाई जबरजस्ती करणी उद्योगको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराको अदालती बयान सकिएको छ । मुद्दामा थुनछेक बहसका लागि समय नपुगेकाले आइतबार हुने भएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शन पाण्डेको इजालसमा बयान भएको हो । महरा अदालतबाट शुक्रबार पनि नर्भिक अस्पताल नै गएका छन् ।
अदालतले थुनछेक बहसपछि महरालाई थुनामै राख्ने कि धरौटी अथवा साधारण तारखेमा छोड्ने भन्ने निर्णय गर्नेछ । सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबार उनलाई जबरजस्ती करणी उद्योगमा मुद्दा दायर गरेको थियो ।
पाँचवटा सबुद प्रमाणसहित डेढसयभन्दा बढी कागजात पेश
सरकारी वकिल कार्यालयले अभियोग पत्रका साथ पाँचवटा सबुद प्रमाण र अन्य दशी प्रमाणहरु पेश गरेको छ । पीडित महिलाले मौकामा बोलेको भिडियो रहेको पेनड्राइभ, घटनास्थलको तस्वीरहरु, पीडितको कोठामा छुटेको भनिएको महराको जुत्ताको तलुवा, चश्माको डण्डी र हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीसँग पीडितले गरेको भिडियो कुराकानीको डिभिडी, रक्सीको बोतल तथा गिलास आदिलाई सबुद प्रमाणको रुपमा मानिएको छ ।
त्यस्तै दशी प्रमाणका रुपमा महराका सुरक्षा गार्ड, सांसद उमा रेग्मी आदिसँग गरिएको कुराकानीलाई मानेको छ ।
घटनास्थलको मुचुल्कालगायत अन्य डेढसयभन्दा बढी सम्बन्धित कागजातहरु सरकारी वकिलको कार्यालयले अदालतमा पेश गर्दै महरालाई कारबाही शुरु गर्न अनुरोध गरिएको छ ।
अभियोग पत्रमा जिल्ला न्यायाधीवक्ता उमाकान्त पौडेलको हस्ताक्षर रहेको छ ।