वीरगञ्जमा छठपर्वकाे तयारी (फाेटाे\भिडियाे)
तस्वीर\भिडियाे : मनिष पाैडेल
तराईमधेसका हिन्दुधर्मावलम्बी सामुदायबीच ज्यादै महत्वपूर्ण मानिने छठपर्वको तयारी तीव्ररुपमा शुरु भएको छ ।
आज दोश्रो दिन खरनाकाे रुपमा छठपर्व मनाइँदै छ । छठ ब्रतालुहरुले नजिकैको नदी, पोखरी तथा तालहरुमा नुहाएर चोखो भई मिठो भोजन गर्छन्।
दिनभरी उपवास बसी राती दूध लगायत मिष्ठान भोजन गर्ने (जसलाई रसिआव रोटी भनिन्छ), भोलि शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र आइतबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिवत रुपमा समापन हुन्छ ।
वीरगञ्जका विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरुपमा सजाइने काम र पोखरी तथा घाटमा सरसफाइसमेत गरिएको छ ।
तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाको पौराणिक महत्व बोकेको घडीअर्वा, नगवा, रानीघाट, मुर्ली, छपकैयालगायतका पोखरी तथा सरोवरसहितको पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सजाइने काम भइरहेको छ ।
छठ पूजा गर्नाले सुख समृद्धि, पुत्र प्राप्ति र मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ । महाभारतकालमा द्राैपती र अनुसुइयाले पनि छठको व्रत बसेको धार्मिक ग्रन्थमा उल्लेख रहेको छ ।
तीन दिनसम्म उपवास बसी मनाइने छठपूजा पछिल्लो समय तराई मधेशमा मात्रै नभई नेपालका पहाडी भेगमा पनि मनाउन थालिएको छ ।
छठलाई हिन्दूको पर्व भनिएको भए पनि छठी माताप्रतिको आस्थाबाट प्रभावित भई तराई मधेशका मुस्लिम धर्मावलम्बीले पनि छठ पर्वको व्रत लिएर छठी माताको पूजा आराधना गर्दै आएका छन् ।