२२ कात्तिकबाट जनकपुरमा लिटरेचर फेस्टिभल
काठमाडाैंबाट शुरु भएर हाल वर्षेनि पाेखरामा हुँदै आएकाे आईएमई नेपाल लिटरेचर फेस्टिभलकाे जनकपुर संस्करण हुने भएकाे छ ।
जनकपुर संस्करणबारे जानकारी दिन यस पटक जनकपुरमा फेस्टिभल गरिने महोत्सवका निर्देशक अजित बरालले बताए । जनकपुरमा पत्रकार सम्मेलन गर्दै निर्देशक बरालले भने, “बौद्धिक एवम् राजनीतिक जागरणको केन्द्र रहे पनि त्यो छबि गुमाउँदै गएको जनकपुरलाई साहित्य महोत्सव मार्फत् पुनरोत्थान गर्न सहयोग पुग्ने विश्वास लिएका छौं ।”
नेपाल भ्रमण वर्ष–२०२० का प्रदेश–२ संयोजक तथा फेस्टिभलको जनकपुर संस्करणका स्थानीय आयोजक मनीष झाले जनकपुरको साहित्यिक इतिहास पुरानै भए पनि यसलाई जनकपुरको आध्यात्मिक पाटोले छोप्दै आएको बताए ।
“त्यही पाटोलाई उजागर गर्न फेस्टिभल आयोजना गर्न लागिएको हो” उनले भने, “तर अहिले जनकपुरमा तीव्र गतिमा धेरै परिवर्तन भइहरेका छन् । ती परिवर्तनलाई हामी यसै फेस्टिभल मार्फत देखाउन चाहन्छौं ।”
२२ कात्तिकदेखि तीन दिनसम्म चल्ने फेस्टिभल जानकी मन्दिर, विवाह मण्डप, गङ्गासागर, गोपाल धर्मशाला र जनकपुर रेलवे स्टेसनमा सञ्चालन हुनेछ । फेस्टिभलमा १२ ओटा सत्रमा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुनेछन् ।
जानकी मन्दिरको प्राङ्गणबाट प्रदीप गिरिले जनकनन्दिनी सीतामाथि विचार राख्नेछन् । ‘प्रदेश वा परदेश’ सत्रमा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सुधीर शर्मासँग बहस गर्नेछन् ।
‘सम्मान, स्वाभिमान र अभिमान’ सत्रमा प्रदेश–२ की सांसद रानी शर्मा, पत्रकार किरण नेपाल र प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाबीच संवाद रहनेछ । यो सत्र सांसद गगन थापाले सञ्चालन गर्नेछन् ।
‘बहुभाषिक कविता वाचन’, ‘साहित्यमा मधेसी पात्रमाथि बहस’, ‘जनकपुरका महत्वपूर्ण साहित्यिक स्रष्टाहरुको योगदान’, ‘मधेसको भोजन संस्कृति’लगायतका विषयमा फेस्टिभलमा बहस हुनेछ ।