संसद बैठक अवरुद्ध
नेकपा एमालेलगायतका प्रतिपक्ष दलको अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक पनि अवरुद्ध भयो ।
सरकारले गत १४ मंसीरमा संविधान संशोधनका लागि व्यवस्थापिका–संसद् सचिवालयमा विधेयक दर्ता गराएसँगै प्रमुख प्रतिपक्ष एमालेलगायतका दलले संसद्को बैठक निरन्तररुपमा अवरोध गर्दै आएका छन् ।
सभामुख ओनसरी घर्तीले अपराह्न ३ बजेका लागि निर्धारित आजको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षसहितका दलका सांसद आआफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए ।
त्यसको लगत्तै सभामुख ओनसरी घर्तीले नेपाल परिवार दलका सांसद एकनाथ ढकाललाई बोल्न समय प्रदान गरिन् ।
बैठकमा सांसद ढकालले संशोधनको प्रस्ताव राष्ट्रियता र अखण्डताको पक्षमा नरहेको हुँदा यसलाई फिर्ता लिन सरकारसंग आग्रह गर्दै विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण नबनाएसम्म अवरोध जारी नै राख्ने बताए ।
बैठकमा सभामुख घर्तीले व्यवस्थापिका–संसद् सबै जनताको भावना राख्ने प्रमुख थलो भएको हुँदा सदन सुचारु गरी जनताको पक्षमा निर्णय गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरेकी थिइन् ।
संशोधन प्रस्तावमा प्रदेशको सीमाङ्कन, भाषा, नागरिकता र राष्ट्रियसभामा समानुपातिक प्रतिनिधित्वजस्ता विषय परेका छन् । प्रमुख प्रतिपक्षले संशोधन प्रस्ताव संविधानको भावना र नेपाली जनताको चाहना विपरीत भएको हुँदा अघि बढाउन नमिल्ने तर्क गरिरहेको छ ।
आजको कार्यसूची
सदनको आजको कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय शङ्कर नायकले नेपालको संविधानको दोस्रो संशोधन २०७३ प्रस्तुत गर्ने विषय परेको थियो ।
अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीउपर महेन्द्रबहादुर शाहीसहित १५७ जनाले दर्ता गरेको महाभियोगको प्रस्ताव माथिको छलफल जारी रहने विषय पनि आजको कार्यसूचीमा समावेश थियो ।
त्यस्तै, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन विधेयक २०७३ र निर्वाचन कसुर तथा सजय विधेयक २०७३ सदन समक्ष प्रस्तुत गर्ने कार्यसूची थियो ।
व्यवस्थापिका–संसद्को अर्को बैठक १४ पुस दिउँसो १ बजे बस्ने छ ।