अत्याधुनिक पेस्तोल सहित तरुण दलका नेता पक्राउ
बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित ६ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते रिसोर्टबाट बिहीबार राति करीब ९ बजे उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपाली कांग्रेसको भातृ संस्था तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाहसहित ६ जना रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाहीले बताए ।
उनका अनुसार रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा १८ च ४२११ नंको मारुती सुजुकी कारको बायाँ तर्फको सिटमा फल्ट बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिनसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा शाहसहित दिनेश शाही, राघव शाह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापा मगर रहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी तरुण दल नगर सभापति शाह निर्माण व्यवसायी समेत हुन् ।