महरासँग बयान लिइदै, लगत्तै थुनछेक बहस
संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरासँग काठमाडौं जिल्ला अदालतले बयान लिंदैछ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध बिहीबार अभियोगपत्र (मुद्दा) दर्ता गरेको थियो ।
बिहीबार समय अभावका कारण महरासँग अदालतले बयान लिन नपाएकाले अहिले केहीबेरमा महराको वयान हुने र त्यसपछि थुनछेक बहस शुरु हुने अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार अब केहीबेरमा महरालाई प्रहरीले अदालत ल्याउनेछ ।
थुनछेक बहसपछि महरालाई तारेखमा छोड्ने वा पुर्पक्षका लागि थुनामै राख्ने भन्ने बारेमा निर्णय हुनेछ ।
महरालाई सरकारी वकिलको कार्यालयले जबरजस्ती करणी उद्योगमा साढे ३ वर्षदेखि ५ वर्षसम्म कसुर सजाय र सार्वजनिक पद धारण गरेको व्यक्ति भएका कारण त्यसमा थप डेढी जोडेर मुद्दा दर्ता गराएको छ ।
सरकारी वकिलको मागदावी अनुसार भएमा महरा थुनामै रहनेछन् र कसूर साबित भए उनलाई सात वर्षसम्म कैद सजाय हुने सक्नेछ ।