छठको दोस्रो दिन, खरना मनाइँदै
-सञ्जय मित्र
लोकपर्व छठको खरना शुक्रबार मनाइँदैछ । छठ व्रत गर्नेहरुले दिनभर निराहार रहेर साँझ घरमा खीर र रोटी छठीमाईलाई चढाउने प्रचलन छ ।
सरिहन धानको अरबा चामल, सख्खर, दूध तथा ल्वाङ, सुकुमेल आदि हालेर बनाइएको खीर, चामलको पीठोबाट बनाएको रोटी र मूलालाई चोखो पारिएको ठाउँमा केराको पातमा साँझ चढाइन्छ ।
घरका सबैले श्रद्धापूर्वक ढोगेपछि चढाएको प्रसादलाई व्रतालु र अन्य सबैले खाने गरिन्छ । छठ पबनी नहुने आफन्तकहाँ खरनाको प्रसाद बाँड्ने चलन पनि रहेको छ ।
साँझ खरनाको प्रसाद ग्रहण गरेपछि व्रतालुहरु फेरि केही पनि खाँदैनन् । भोलि शनिवार षष्ठी तिथिमा दिनभर निराहार बसी दिउँसो नदी वा तलाउमा सजाइएको घाटमा सूर्यलाई अर्घ दिइन्छ । यसलाई सँझियाघाटे भनिन्छ ।
अब घाटमै रातभर बस्ने चलन बढेको छ । षष्ठीको रातमा श्रीसप्ताको पूजा गर्ने र कोसियाको पूजा गर्ने चलन छ । रातभर निराहार बसी सप्तमीको दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न भएको मानिन्छ ।