कला/साहित्यबिहिबार, १४ कार्तिक , २०७६

सिर्जना सुब्बाको गर्भावस्था ‘उत्सव’

हिमालखबर

अभिनेत्री सिर्जना सुब्बाले आफ्नो गर्भावस्थाको फोटो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन् । पहिलो सन्तानको प्रतीक्षामा घरमै आराम गरिरहेकी उनी अबको केही दिनमा नै आमा बन्दैछिन् ।

विभिन्न पोजमा खिचिएको गर्भावस्थाको विशेष फोटो फेसबुकमा सार्वजनिक गर्दै ‘माया नै माया छ तिम्रो नाममा’ क्याप्सन राखेकी छिन् ।

गोदावरीमा खिचिएको तस्विरमा प्रकृति र नारीको सम्बन्ध कत्ति नजिक हुन्छ भन्ने देखाउन खोजिएको उनको भनाइ छ ।

समाजमा यसलाई लाजको कारण मानिने र गर्भावस्था लुकाएर राख्ने प्रचलनलाई हटाउनुपर्छ भन्ने मान्यताले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेको बताउँछिन् ।

उनी भन्छिन्, "गर्भवती हुनु भनेको नारीले लजाउने पेट देख्लान् कि झैं गरेर ढाकेर हिँड्ने होइन, यो त हामीलाई प्रकृतिले दिएको विशेष अवसर हो ।" 
महिलालाई प्रकृतिले नै सृष्टि गर्ने शक्ति दिएको र यसलाई उत्सवको रुपमा मनाउनुपर्ने उनको जिकिर छ । पेट देखाउनु नदेखाउनु महिलाको व्यक्तिगत इच्छाको कुरा भए पनि यो विशेष अवस्थालाई लाजको रुपमा लिनु भने गलत हुने उनको भनाइ छ ।

विशेष अवस्थाको फोटो सम्झनाको लागि खिचिएको भए पनि यसले समाजमा हुने नकारात्मक भ्रम चिर्न सहयोग गर्नेसक्ने हुनाले सामाजिक सञ्जालमा राखेको बताउँछिन् ।

भन्छिन्, "यो अवसर महिलाले निश्चित उमेरमा मात्रै पाइन्छ, चाहेर पनि समयभन्दा न अघि न पछि पाइन्छ । त्यसैले सम्झनाको लागि यो तस्वीर खिचेकी हुँ ।"

गर्भावस्थामै रंगमञ्चमा आफ्नो प्रस्तुति समेत दिएकी उनले गर्भवती हुनु भनेको कमजोर हुनु नभई विशेष अवसर हो भन्ने सन्देश दिएकी थिइन् ।

अभिनास मास्के र क्लु जैनले लिएको तस्वीरमा तेह्रथुमे ढाका बुटिकको पहिरन रहेको सुब्बाले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस