माथिल्लो त्रिशूली १ मा लगानी जुट्यो, नौ अन्तर्राष्ट्रिय ब्यांकको ४५ अर्ब लगानी
२१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ ।
आयोजना आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी र नौवटा अन्तर्राष्ट्रिय ब्यांकबीच ऋण लगानीसम्बन्धी सम्झौतामा भोलि शुक्रबार हस्ताक्षर हुने कम्पनीले जनाएको छ ।
विश्व ब्यांकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को नेतृत्वमा नौ अन्तर्राष्ट्रिय ब्यांकले परियोजनामा करीब ४५० मिलियन डलर (करीब रु. ४५ अर्ब) लगानी गर्नेछन् ।
शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडा र ऊर्जा मन्त्री वर्षमान पुनको उपस्थितिमा आयोजनाको प्रवद्र्धक कम्पनी र ब्यांकहरूबीच ऋण लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने छ ।
आयोजना निर्माणका लागि आईएफसीसहित एशियाली विकास ब्यांक, एशियाली पूर्वाधार विकास ब्यांक, एक्जिम ब्यांक अफ कोरिया, कोरियन डेभलपमेन्ट ब्यांक, कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन, डच डेभलपमेन्ट ब्यांक, फ्रेन्च डेभलपमेन्ट एजेन्सी र तेल उत्पादक देशहरुको संस्था (ओपेक) फण्ड फर इन्टरनेशनल डेभलपमेन्टको लगानी हुनेछ ।
कम्पनीका महाप्रबन्धक गिरिराज अधिकारीले ऋण सम्झौता भएर नेपाल राष्ट्र ब्यांकले ऋण भित्र्याउने अनुमति दिनेबित्तिकै आयोजना निर्माण शुरु हुने जानकारी दिए ।
करीब ७० अर्ब लागत रहेको आयोजनाको बाँकी लगानी स्वपूँजीबाट जुटाइनेछ । आयोजना रसुवा जिल्लामा निर्माण हुनेछ ।