समाचार विहीबार, कात्तिक १४, २०७६

शुरु भयो छठ

हिमालखबर

-जियालाल, बीरगञ्ज

सूर्यको आराधना गरी मनाइने छठ पर्वको रौनक शुरु भएको छ ।

कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो ।

छठ पर्व सुरु भएसँगै गाउँबस्तीमा छठी गीत गुञ्जिरहेका छन् । सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन ब्रतालुले ब्रत संकल्प गरेर पवित्र स्नान गरेर चोखोनितो खान्छन् । पहिलो दिनको यो विधिलाई बोलीचालीमा ‘नहाय–खाय’ भन्ने गरिन्छ ।

पर्वको दोस्रो दिन पञ्चमी तिथिमा ब्रतालुले दिनभरि निराहार ब्रत बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गर्नेछन् ।

यसैगरी, पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन बिहानै नुवाई–धुवाई गरेर निराहार ब्रत बसेका ब्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ्य दिने गरिन्छ ।

मिथिलामा यो विधिलाई ‘सझुका अरख’ भनिन्छ । झिलीमिली पारेर सजाइएको पानीघाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघिल्लो दिन अस्ताउँदा सूर्यलाई अर्घ्य दिँदा देखाइएका सामग्री देखाएर अर्को अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा छ ।

उदाउँदो सूर्यलाई दिइने यो अर्घ्यलाई ‘भोरका अरख’ भनिने गरिएको छ । मिथिला लोकसंस्कृतिको अभिन्न अंग बनिसकेको यो पर्वको तयारीमा अहिले यस क्षेत्रका नदी, तलाउ र कुण्डसहितका जलाशय मनमोहक ढंगले सिंगारिएका छन् । 

 

प्रतिकृया दिनुहोस