'लैंगिक हिंसा विरुद्धको वर्ष २०७६': मुख्य मन्त्रीहरुसँग छलफल हुँदै
२०७६ साललाई लैङ्गिक हिंसा विरुद्धको वर्ष घोषणा गरेको सरकारले प्रदेश स्तरीय अभियान सञ्चालन गर्ने भएको छ ।
अभियान अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्वमा विभिन्न कार्यक्रम भइरहेकोमा सबै प्रदेशमा मुख्य मन्त्रीहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको हो । मन्त्री थममाया थापाको अध्यक्षमा आगामी सोमबार (१८ कात्तिकमा) प्रदेश १ का मुख्य मन्त्री शेरधन राईसँग पहिलो छलफल गर्ने तयारी छ ।
मुख्यमन्त्रीसँगै छलफलमा प्रदेश सांसदहरु र प्रदेशभरिका स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको पनि सहभागिता रहने मन्त्रीका पे्रस सल्लाहकार गगनशिला खड्काले जानकारी दिइन् ।
१८ गते शुरु हुने छलफल ९ मंसिरमा काठमाडौंमा प्रदेश ३ का मुख्य मन्त्रीसँगको छलफलसँगै समापन हुनेछ ।
नेपाल सरकार मन्त्रिपरिषदले ६ जेठमा २०७६ लाई लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियानको घोषणा गर्ने निर्णय गरेको थियो । सोही अनुसार पहिलो राष्ट्रिय महिला अधिकार दिवस १६ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियान २०७६’ को औपचारिक घोषणा गरेका थिए ।
अभियान वर्षको मुख्य जिम्मेवारी महिला मन्त्रालयले मन्त्री थापाको अध्यक्षतामा कार्यक्रमहरु भइरहेका छन् । काठमाडौंमा विभिन्न सरोकारवालाहरुसँग छलफल गरिरहेको मन्त्रालयले प्रदेशमा मुख्य मन्त्रीहरुसँग छलफल गरेर अभियान विस्तार गर्न लागेको हो ।
यसअघि सातै प्रदेशका उपसभामुखहरुसँग पनि मन्त्री थापाले काठमाडौंमै छलफल गरेकी थिइन् ।