पाकिस्तानमा गुडिरहेको रेलमा आगो लाग्दा ६५ जनाको मृत्यु, ३९ घाइते
पाकिस्तानको एक रेलमा आगो लाग्दा कम्तिमा ६५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । मृत्यु हुने धेरैको पहिचान हुन सकेको छैन ।
तेज गाम एक्सप्रेसमा लागेको आगोमा परी ३९ जना घाइते भएका छन् । तेज गाम एक्सप्रेस कराँचीदेखि रावलपिंडीसम्म चल्ने रेल हो । रेल रावलपिंडी जानेक्रममा लियाकतपुरमा तीन डिब्बामा आगो लागेको थियो ।
रहीम यार खानका डिप्युटी कमिश्नर जमील अहमद जमीलले उक्त आगलागीमा ६५ जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएको जानकारी दिएका छन् ।
जसमा ६ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको शेख जाएद अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ ।
रेल मन्त्री शेख राशिद अहमदले दिएको जानकारी अनुसार यात्रीहरुले बोकेको सिलिन्डर पड्केर यस्तो दुर्घटना पुगेको हो ।