समाचार विहीबार, कात्तिक १४, २०७६

पोखरा-मुग्लिन सडक पाँच वर्षमा चार लेन बन्ने

रासस

पोखरा–मुग्लिन राजमार्ग चार लेनमा विस्तार गर्न एशियाली विकास ब्याङ्क (एडीबी)ले १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ। हालको दुई लेनको सडकलाई चार लेनको बनाउन नेपाल सरकारले रु.५ अर्ब ९० करोड लगानी गर्नेछ।

एडीबीको प्रधान कार्यालय मनिलाबाट जारी प्रेस विज्ञप्ति अनुसार नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने उक्त राजमार्गको स्तरोन्नति अपरिहार्य भएकाले ब्याङ्कले ऋण रकम स्वीकृत गरेको हो। भारत र बाङ्लादेशसँग नेपाललाई जोड्ने उपक्षेत्रीय करिडोरका रुपमा रहेको उक्त राजमार्ग विस्तार भएपछि सवारी आवागमनमा सहजता हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन सजिलो मात्र नभई ढुवानी खर्चमा समेत कमी आउने विश्वास ब्याङ्कले लिएको छ।

पहिलो चरणमा पोखरा–आबुखैरेनी ८१ किलोमिटर सडक विस्तार गरिनेछ। यसपछि आबुखैरनी–मुग्लिन आठ किलोमिटर खण्ड निर्माण गरिनेछ। एडीबीका अनुसार आगामी पाँच वर्षभित्र उक्त राजमार्ग चार लेनको बनाइसक्ने लक्ष्य छ।

प्रतिकृया दिनुहोस