जम्मू–कश्मीर एउटा, लद्दाख अर्को केन्द्रशासित भूभाग
भारतको जम्मू–कश्मीर राज्यलाई बिहीवारदेखि आैपचारिक रुपमा दुईवटा केन्द्रशासित भूभागमा विभाजन गरिएको छ।
गत अगस्टमा भारत सरकारले गरेको निर्णयबमोजिम आैपचारिक रुपमा यस्तो विभाजन भएको हो।
हिन्दू राष्ट्रवादी सरकारले जम्मू–कश्मीर राज्यको विशेष संवैधानिक मान्यता खारेज गरेर त्यसलाई दुईवटा केन्द्रशासित भूभागमा परिणत गरिदिएको थियो।
उक्त निर्णयानुसार अब जम्मू–कश्मीर एउटा र लद्दाख अर्को केन्द्रशासित भूभाग बनेका छन्। पहिले जम्मु–कश्मीर राज्यकै भाग रहेको बौद्धमार्गीको बाहुल्य भएको लद्दाख क्षेत्र बिहीवारदेखि छुट्टै एकाइ बनेको छ।
परिवर्तनको प्रभाव
केन्द्रशासित क्षेत्रहरूसँग निकै कम स्वायत्तता हुन्छ। यी परिवर्तनले ती क्षेत्रमा दिल्लीको नियन्त्रण थप कसिलो बनाउनेछ।
जम्मु–कश्मीर राज्यको करीब ९८ प्रतिशत जनसङ्ख्या केन्द्रशासित जम्मु–कश्मीर भूभागमै रहनेछन्। त्यसमा खासगरी दुईवटा क्षेत्र हुनेछन्।
मुसलमान बहुल कश्मीर उपत्यकामा ८० लाख जनसङ्ख्या छ भने हिन्दू बहुल जम्मुमा ६० लाख जनसङ्ख्या छ । तेस्रो क्षेत्र लद्दाख निकै उचाइमा रहेको ठाउँ हो।
त्यहाँ तीन लाख मानिस छन् जसमध्ये मुसलमान र बौद्धमार्गी लगभग बराबर छन्। सरकारका अनुसार पुरानो राज्य सरकारका कर्मचारीहरूले आफ्ना साविकका काम नयाँ क्षेत्रमा गर्नेछन्।
‘बितेको ६५ वर्षदेखि जम्मु–कश्मीर भारत अन्तर्गत रहेको एउटा स्वायत्त राज्य थियो।
यही कारण उसको छुट्टै प्रशासन थियो, छुट्टै वित्तीय तथा कानुनी प्रणाली थियो। यहाँभन्दा बाहिरका मानिसलाई जग्गाजमिन तथा सम्पत्ति किन्न रोकटाेक थियाे।’
‘साथै सबै सरकारी प्रतिष्ठान तथा गाडीहरूमा भारतको तिरङ्गाका साथमा राज्यको छुट्टै झण्डा पनि अङ्कित हुन्थ्याे।’
बढ्दो तनाव
अगस्टमा भारत सरकारले गरेको निर्णयपश्चात् कश्मीरमा निकै तनाव चर्किएको छ।
मङ्गलवार कश्मीरमा सन्दिग्ध पृथकतावादी विद्रोहीहरूले कम्तीमा पाँचजना निर्माण मजदुरहरूलाई गोली हानी मारिदिएको प्रहरीले बताएको छ ।
ती मजदुर पश्चिम बङ्गाल राज्यका थिए। केही समययता कश्मीरमा बाहिरबाट आएर बसेका मानिसविरुद्ध आक्रमणको क्रम बढेको छ।
(बीबीसीकाे सहयाेगमा)