महरा विरुद्ध मुद्दा चलाउने/नचलाउने निर्णय हुँदै
सरकारी वकिलको कार्यालय काठमाडौंले जबरजस्ती करणी उद्योगको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउने/नचलाउने भन्ने बारेमा बिहीबार निर्णय गर्दैछ ।
स्रोतका अनुसार पीडितको किटानी जाहेरी र प्रहरीको अनुसन्धान प्रतिवेदन बलियो भएकाले महराविरुद्ध अभियोग पत्र दर्ता हुनेछ । एक सरकारी वकिलले अहिले सोही विषयमा काम भइरहेको र यो विषय आज टुंगिने बताए । महराविरुद्ध मुद्दा दायर नगरिए कानुनतः उनलाई आजै थुनामुक्त गर्नुपर्नेछ ।
आरोपी पक्राउ परेको २५ दिन भित्र मुद्दा चलाउने÷नचलाउने निर्णय गरिसक्नुपर्ने कानुनी प्रावधान छ । महरा पक्राउ परेको सो अवधि नाघिसकेको छ ।
गत शुक्रबार महानगरीय प्रहरी परिसर टेकुले महरा घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । तर तिहार बिदा परेकाले आज मात्र यो विषय अघि बढ्न लागेको हो ।
अदालतमा सरकारी वकिलले अभियोग पत्र दायर गरेपछि थुनछेक बहस शुरु हुनेछ । थुनछेक बहसपछि महरालाई धरौटीमा छोड्ने वा पूर्पक्षका लागि थुनामै पठाउने भन्ने बारे निर्णय हुनेछ ।
संसद सचिवालयकी एक महिला कर्मचारीले आफ्नै कोठामा आएर महराले जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि महरालाई प्रहरीले १९ असोजमा नियन्त्रणमा लिएर थुनामा राखी अनुसन्धान गरेको हो ।