समाचार बुधबार, कात्तिक १३, २०७६

काठमाडौंको गुह्येश्वरीमा छठको तयारी

रासस

नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ ।

गुह्येश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु गरेको हो । यही कात्तिक १५ गतेसम्म सबै तयारी पूरा हुने समितिका अध्यक्ष रामबाबु महासेठले जानकारी दिए।

गत वर्ष ४५० छठघाट बनाइएकामा यस वर्ष ६५६ भन्दा बढी बनाउन लागिएको उनले जानकारी दिए । त्यसमध्ये ३०० भन्दा बढी घाट व्रतालुले लिइसकेका छन् । पछिल्लो समय पहाड एवं हिमालवासीले पनि सूर्य आराधनाको पर्व छठ मनाउन थालेका छन् ।

गुह्येश्वरीमा मात्र वार्षिक लाखौँ व्यक्तिले कार्तिक शुक्ल षष्ठी तिथिमा छठ पर्व मनाउने गरेका छन् ।

तराईमा धुमधामसँग मनाइने सूर्य आराधनाको पर्व छठ एक दशक अघिदेखि काठमाडौंमा पनि भव्यरुपमा मनाउन थालिएको छ । यस वर्ष कात्तिक १६ गते शनिबार छठ पर्वअन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।

त्यस दिन राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्ने जनाइएको छ ।

यही १७ कात्तिक आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ । छठ पर्व मनाउन सहज होस् भनी आगामी शनिबार बिहान गुह्येश्वरी क्षेत्रमा वाग्मती सफाइ महाअभियानले कार्यक्रम राखेको बताइएको छ ।

प्रतिकृया दिनुहोस