यू–१९ क्रिकेट टोलीको कप्तानमा ऋत गौतम
दुई महिनाअघि यू–१९ एसिया कप खेलेका आठ खेलाडीलाई विश्राम दिएर भारतमा हुने यू–१९ च्यालेन्जर सिरिज खेल्न घोषणा गरिएको नेपाली यु–१९ टिमको कप्तानमा ऋत गौतम नियुक्त भएका छन् । हैदराबादमा १० नोमेम्बरबाट सुरु हुने प्रतियोगितामा नेपालले यू–१९ ‘ए’ टिमकाे रुपमा सहभागिता जनाउने छ ।
श्रीलंकामा ५ देखि १५ सेप्टेम्बरसम्म भएको उक्त एसिया कपमा गौतमले राम्रो प्रदर्शन गरेका थिए । पहिलो खेलमा उनले श्रीलंकाविरुद्ध ८५ बलमा ५४ रनको अर्धशतकीय पाली खेलका थिए भने बंगलादेशविरुद्ध ५३ बलमा ३२ रन बनाएका थिए । तर, युएईविरुद्ध भने गोल्डेन डकआउट भएका थिए ।
उक्त प्रतियोगिता खेलेका रोहितकुमार पौडेल, आसिफ सेख, भीम सार्की, सन्दीप जोरा, पवन सर्राफ, कमलसिंह ऐरी, रसिद खान र सागर ढकाललाई ‘ए’ टिममा राखिएको छैन । त्यस्तै सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीलाई एसिया कप खेल्ने टोलीमा पनि राखिएको थिएन ।
बुधबार घोषित यू–१९ ‘ए’ मा कप्तान गौतमका अतिरिक्त लोकेशबहादुर बम, त्रितराज दास, विशालविक्रम केसी, खडकबहादुर बोहोरा, अभिषेक बस्नेत, हरिबहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल छन् । त्यस्तै विवेशकुमार यादव, सूर्य तामाङ, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी र गौतम केसी पनि छनौट भएका छन् ।
घोषित खेलाडीमध्ये हरिबहादुर चौहान र कुशल मल्ल सबैभन्दा अनुभवी हुन् । १६ वर्ष मात्र पुगेका कुशलले टी२० मा राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन् । उनीहरु एसिया कप खेल्ने टोलीमा पनि थिए । लोकेशबहादुर बम, खडकबहादुर बोहोरा, प्रतिश जिसी र सूर्य तामाङ पनि उक्त टोलीमा थिए ।
यसपटक बैकल्पिक खेलाडीमा दीपक बोहोरा, दुर्गेश गुप्ता, निखिलकुमार सिंह र सोनु देवकोटा छानिएका छन् । प्रतियोगितामा नेपाल यू–१९ ‘ए’ सँगै भारतका यू–१९ निलो, रातो र पहेँलोले प्रतिश्पर्धा गर्ने छन् ।