‘सुरुङबारे ज्ञान नभएकाले बोलेर बिगारे’
सरकारले आगामी एक दशकलाई सुरुङ मार्ग निर्माणको युग बनाउने घोषणा गरेको सन्दर्भमा नेपाल टनेलिङ एशोसिएसनका उपाध्यक्ष रामहरि शर्मा भन्छन्, “व्यवहारमै कार्यान्वयन गर्नुपर्छ।”
तपाईंहरूले सुरुङ निर्माणबारे लामो समयदेखि वकालत गर्दै आउनुभएको थियो, सरकारले नागढुङ्गा–नौबिसे खण्डमा सुरुङमार्ग निर्माणको शिलान्यास गर्दा कस्तो लागेको छ ?
हामी एकदमै उत्साहित छौं । सडक सञ्जाल र यातायातलाई सीधा र छिटो बनाउन सुरुङ मार्ग हाम्रो आवश्यकता भइसक्यो । सुरुङ निर्माणको काम अब व्यवहारमै कार्यान्वयन गर्नुपर्छ ।
विगतमा तपाईंहरूले जोड दिए पनि सुरुङ मार्गमा प्रगति हुन नसक्नुको कारण के हो ?
यातायातलाई छिटोछरितो र सहज बनाउन ठाउँठाउँमा सुरुङ बनाउनुपर्छ भनेर हामीले २०–२५ वर्षदेखि वकालत गर्दै आएका छौं । तर यसतर्फ चासो नदिनुमा मुख्य कुरा त सरकारको कमजोरी हो ।
त्यसबाहेक, हाम्रो स्रोत र क्षमता पनि थिएन । एक किलोमिटर सुरुङ निर्माण गर्ने रकमले ५०औं किलोमिटर सडक निर्माण गर्न सकिन्थ्यो । पछिल्लो समय हाम्रो स्रोत र क्षमता दुवैको विकास भयो । यस्तै, छिमेकी मुलुकहरूले पनि सुरुङ मार्गलाई प्राथमिकतामा राखेपछि यसको आवश्यकता बोध भयो ।
सरकारको कमजोरी केमा देख्नुहुन्छ ?
सुरुङमा सडक विभागले पहिले नै ध्यान दिनुपथ्र्याे । सरकारको निर्णायक तहमा बस्नेहरूले यस सम्बन्धमा निर्णय नै गर्न सकेनन् ।
कुनै अध्ययन नै नगरी यहाँको भूबनोटलाई समस्या देखाएर पन्छिने काम भयो । सुरुङको विषयमा ज्ञान नै नभएकाहरूले हचुवामा बोलेर बिगारे । जसका कारण ३० वर्षअघि नै शुरु हुनुपर्ने काम बल्ल अघि बढ्दैछ ।
नेपालमा सुरुङ मार्गको सम्भावना कति छ ?
एकदमै छ । सुरुङ जहाँ पनि बनाउने भन्ने होइन । केही यस्ता ठाउँ छन्, जहाँ सुरुङ नबनाएसम्म हाम्रो यातायात द्रुत हुन सक्दैन ।
भौगर्भिक हिसाबले कत्तिको चुनौती छ ?
चुनौती छन्, तर तिनको सामना गर्न हामी सक्छौं । भौगर्भिक अवस्था कतै राम्रो छ, कतै कमजोर । तर, बनाउन नसकिने होइन । बलियो चट्टान भएको ठाउँमा कम लगानीमै बन्छ भने कमजोर चट्टान भएको ठाउँमा बढी खर्चिलो हुन सक्छ