टी२० वरियतामा नेपाल एक स्थान उक्लियो
आईसीसीले जारी गरेको टी२० क्रिकेटको नयाँ वरियातामा नेपाल एक स्थान माथि उक्लिएको छ । ११ कात्तिकमा जारी गरिएको वरियतामा नेपाल १२औँ स्थानमा छ ।
नयाँ वरियतामा टेस्ट मान्यता प्राप्त आयरल्याण्ड १४औँ स्थानमा छ । नेपालभन्दा माथि ११औँ स्थानमा जिम्बाब्बे छ । नेपालको ठीक मुनि १३औँ स्थानमा युएई छ ।
टि२० वरियताको पहिलो स्थानमा पाकिस्तान छ । दोस्रोदेखि १०औँ वरियतामा क्रमशः इङ्ल्याण्ड, दक्षिण अफ्रिका, अष्ट्रेलिया, भारत, न्यूजिल्याण्ड, श्रीलंका, अफगानिस्तान, बंगलादेश र वेष्ट इण्डिज छन् ।
आईसीसीले ८६ देशलाई टी२० वरियतामा समेटेको छ । अन्तिम स्थानमा गिब्राल्टर छ । एसियाली देशमा ओमान १५औँ, हङकङ २०औँ, कतार २१औँ, सिंगापुर २२औँ, साउदी अरेबिया २४औँ स्थानमा छन् । अन्य देशमा अमेरिका ३३औँ, मलेसिया ३९औँ, जापान ५८औँ, दक्षिण कोरिया ७०औँ र चीन ८१औँ स्थानमा छन् ।
एक दिवसीयको वरियतामा नेपाल १७औँ स्थानमा छ । एक दिवसीय वरियता पाएका २० देशमध्ये नेपालभन्दा तल क्रमशः अमेरिका, युएई र पपुवा न्यू गिनी छन् ।
नेपालभन्दा माथि १६ औँ स्थानमा ओमान छ । आगामी माघमा त्रिकोणीय एक दिवसीय प्रतियोगिताका लागि ओमान र अमेरिका नेपाल आउँदैछन् ।
एक दिवसीयको पहिलो नम्बरमा इङ्ल्याण्ड छ । दोस्रो देखि १०औँ सम्म क्रमशः भारत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेष्ट इन्डिज र अफगानिस्तान छन् । आयरल्याण्ड र जिम्बाब्बे क्रमशः ११औँ र १२औँ स्थानमा छ । १३औँ नेदरल्याण्ड र १४औँ मा स्कटल्याण्ड छन् ।