समाचार मंगलबार, कात्तिक १२, २०७६

आठ हजार मिटर अग्ला सबै १४ हिमाल चढेर निर्मल पुर्जाले राखे नयाँ कीर्तिमान

हिमालखबर

नेपाली आरोही निर्मल पुर्जाले सात महीनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान राखेका छन् ।

३६ वर्षीय निर्मल पुर्जाले मंगलबार बिहान चीनको शीशापाङ्मा हिमालको चुचरोमा पुगेर आफ्नो हिमाल आरोहणको सबै कार्य पूरा गरेको बीबीसीले जनाएको छ ।

यसअघि पोल्याण्डका जेर्जी कुकुक्जाले आठ वर्ष लगाएर सन् १९८७ मा कीर्तिमान राखेका थिए । यसलाई सात महीनामा पुर्जाले पूरा गरेका छन् ।

पुर्जाले गएको एप्रिलमा आफ्नो अभियान शुरु गरेका थिए र मेमा सगरमाथा चढेका थिए। उनले त्यहाँ खिचेको भीडको तस्वीरले संसारको ध्यान खिचेको थियो । उनले सगरमाथा, लोत्से र मकालु हिमाल पाँच दिनमा चढेका थिए।

सेप्टेम्बरमा उनको अभियान तिब्बतमा रहेको शीशापाङ्मा हिमाल चढ्न चिनियाँ सरकारले अनुमति नदिँदा रोकिएको थियो। नेपाल सरकारले चिनियाँ सरकारलाई अनुरोध गरेपछि उनले अक्टोबर १५ मा अनुमति पाएका थिए। (बीबीसी)

प्रतिकृया दिनुहोस