आजबाट नेपाल संवत् ११४० शुरु, नेवार समुदायले म्हः पूजा गर्दै
नेपाल संवत् ११४० आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।
राष्टिय विभूति शङ्खधर साख्वाले वि.सं. ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात गराएका थिए।
नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए। “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायणको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने।
वि.सं. २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ।
आजकै दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ। कात्तिक शुक्ल प्रतिपदाका दिन आफ्नो पूजा आफैंले गर्ने म्हः पूजा पर्व मनाउने प्रचलन छ।
यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ। एकथरी नेवार समुदायले सोमबार म्हः पूजा गरेका छन्। अर्काथरीले भने मङ्गलबार गर्दैछन्। मङ्गलबार नयाँ वर्ष मनाएर आत्मपूजा गर्नेले बुधबार भाइटीका गर्ने जानकारी गराएका छन्। यस अवसरमा बुधबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए।