टिप्पणीसोमबार, ११ कार्तिक , २०७६

मृत्युशय्यामा कवि

सन्दर्भ : देवकाेटा जयन्ती

हिमालखबर

डम माेरे

सन् १९५९ सेप्टेम्बर १४, महाकवि लक्ष्मीप्रसाद देवकोटा आर्यघाटमा मृत्युसँग कठोर संघर्ष गरिरहेकै वेला (मृत्युको केही घण्टा अघि मात्र) भारतका दुई अंग्रेजीभाषी युवा लेखक डम मोरे र वेद मेहताले उनीसँग थोरै समय संवाद गर्न भ्याएका थिए ।

देवकोटासँगको यो दुर्लभ भेटबारे एक वर्षपछि मोरेले बेलायतबाट प्रकाशित निबन्ध संग्रह गन अवे मा ‘डाइङ पोएट’ शीर्षकमा लामो संस्मरण लेखे भने मेहताले १९६० जनवरी २ को द न्यू योर्कर पत्रिकामा ‘इन्डियन समर’ शीर्षकको अर्को निबन्ध छपाए, जुन पछि त्यही वर्ष ‘वाकिङ द इन्डियन स्ट्रिट्स’ पुस्तकमा पनि पुनः प्रकाशित भयो ।

प्रस्तुत आलेख मोरेद्वारा लिखित सोही निबन्धको अंश हो । दुई वर्षअघि मात्र बितेका साहित्यकार इन्द्रबहादुर राईले अनुवाद गरेको यो अंश हामीलाई लेखक टीका ढकाल मार्फत प्राप्त भएको हो ।

ढकालसँगको भेटमा राईले अनूदित संस्मरणको सानो अंश सन् १९६१, जुलाईमै सिक्किमबाट प्रकाशित हुने दियालो साहित्यिक पत्रिकामा छापिएको, त्यसपछि आफूले मोरे र मेहताका पछिल्ला निबन्धहरूमा पनि सम्झिइएका देवकोटाका प्रसङ्गहरू समेटेर र स्वयं मोरेसँग समेत कुराकानी गरी अनुवाद पूर्ण गरेको बताएका थिए । प्रस्तुत अनुवादमा मोरेको मूलप्रति भन्दा केही थप र परिमार्जित भएको हुनसक्ने ढकालको अनुमान छ ।

महाकवि देवकाेटा अन्तिम अवस्थामा पशुपति आर्यघाटकाे सत्तल काेठामा । तस्वीर साैजन्य : नेपाल सांस्कृतिक संघ

म सखारै उठें र झ्यालमा गएँ तब सूर्य हिमाल नाघेर मोक्षित भयो । जल्दो बादलको विग्रह जस्तो सूर्य । त्यसपछि अकस्मात् त्यही सूर्य भर्खरै ढालेको सिक्का जस्तो गुडिरहेछ, पर्वत खाल्डो र नदी, नीलो आकाश र काठमाडौं शहरका ती चिनियाँ शैलीका छानाहरूमाथि, जो अब उज्यालो चिसो ज्योतिमा थप प्रष्ट हुँदै आउँदैछन् ।

नेपालमा हाम्रो अन्तिम बिहान थियो । कुनै ठाउँ छोडेर जानु, कस्तो विस्मयकारी । जब म फर्कुंला, कदाचित फर्केंछु भने, म बुढ्यौलीमा पसिसकेको, धेरै नियमपालक, थोरै पिउने र धेरै व्यवस्थित भइसकेको हुनेछु ।

म होटलको ओछ्यानमा बसेर ब्रेकफास्ट खानेछु । किनभने म फर्किन्जेलसम्म यहाँ हिल्टन होटल भइसक्नेछ, टोखा जाने मोटरबाटो हुनेछ र हामी गाडी हाँकेर माथि पुग्दै त्यहींबाट मन भरी एभरेष्टका फोटोग्राफहरू लिनेछौं । वेद (लेखक वेदप्रकाश मेहता) पनि त्यस्तै भैसकेको हुनेछ ।

हामीले दाह्री खौरने, नुहाउने काम गर्‍यौं । बीचैमा गुप्ता आइपुग्यो ।
‘तिमीहरू देवकोटालाई सम्मानमा भेट्न जान चाहन्छौ ? म लैजान्छु ।’
‘उनी अझैं अस्पतालमै छन् ?’

‘उनलाई पशुपति लगिसके । अब कुनै पनि क्षण स्वर्गवास भइहाल्न सक्छन् ।’
‘अहो !’ विरोधमा झैं मैले भनें, अलिक मूर्खले झैं, ‘यस्तो वेला उनलाई बाधा गर्न पुग्नु कसैले चाहँदैन ।’

‘होइन, केही हुँदैन । खासमा उनी पनि खुशी हुनेछन्, विशेष दुई लेखकलाई भेट्दा । उनी एक्लै छन् ।’
हामीले लुगा लायौं अनि तल झ्रेर जीपमा हुर्रियौं । ‘लैजाउ हामीलाई’, ड्राइभरसँग गुप्ताले भन्यो, ‘मान्छे जलाउँछन् नि, त्यतै ।’
‘आर्यघाट’, ड्राइभर सम्झें जस्तो गरी फुस्फुसायो ।

यो लामो दौड लाग्यो, चारैतिर उज्यालो हरियो भएको उपत्यकाबाट भएर जाँदा, र भिरालो पाखामा थेचारिंदै गएपछि धुलाम्मे एउटा गाउँमा पुगियो ।

अब जीप अघि जाँदैन । मन्दिरका घरहरू त्यहाँ तल छन् । पारि वसुमती (वागमती) नदी छ । गाउँदेखि छोटो ओरालो हिंडेर झर्‍यौं र काठको फाटकमा पुग्यौं जसले हामीलाई नाङ्गो माटोको आँगनमा पसायो ।
‘यो हो मन्दिर ।’

आँगनको पल्लो छेउमा अर्को एउटा काठकै फाटक थियो । यहाँबाट वसुमती नदी देखियो, दुई फाँटदार बगरबीचमा ढुङ्गाहरूमाथि चढ्दै धिमा गतिमा बगिरहेको फुस्रो चिप्लो पानी । एक असाधारण, अचल र व्याप्त गन्ध । अंशमा शव पोलिएको, अंशमा फोहोरको, अंशमा मृत्युको गन्ध ।

‘कवि ? मरिसके होलान् ।’ त्यो मानिस उठ्यो, हाइ काढ्यो र शय्याहरूको लहरमा आँखा दौडायो । ‘ए, नमरिरहेछन्, ऊ त्यहाँ ।’
हामी मृत्युशय्यापछि शय्याकै खुट्टाको छेउ भएर नाघ्दै गयौं । छेउ पुगेपछि गुप्ताले अडिएर, अत्यन्त झुकेर नमस्कार गर्‍यो ।

नदीलाई दाहिनेतिर पारेर च्याप्टा ढुङ्गाहरू ओछ्याइएको बाटो हामी हिंड्दै गयौं । देब्रेतिर एक लहर थियो एकतले घरहरूको, ढुङ्गाकै दलिन र खाँबा, काठको छप्पर भएको । जो मन्दिरभित्र पुग्ने लामो सिंढीसम्मै पुगेको थियो । वसुमतीको मैलो पानीमा दुई जना तर्नेहरू डुलिरहेका थिए, बाँस हातमा बोकेर । गुप्ताले देखायो ।

‘दुईजना कोही मर्न लागेको हुनुपर्छ । ऊ.. त्यसैमा जलाइनेछन् ।’
त्यसपछि उसले हाम्रो देब्रेपट्टिको एउटा घर देखायो– ‘मर्न लाग्नेहरूको घर (घाटे वैद्यको कक्ष), देवकोटा त्यहीं छन् ।’
यस घरमा ढुङ्गाको बरण्डा रहेछ जहाँ दुइटा खुट्टामा त्यसै माथिबाट तख्ता राखिएका शय्याहरू दश–दश फीट जतिको दूरीमा राखिएका थिए ।

प्रायःजसो यी शय्यामा चादरले बेरिएका नचिनिने मानिसहरू थिए जो एक वा दुई दिक्दार भैसकेका सम्बन्धीहरूद्वारा कुरिएका थिए, कतिलाई रुङ्ने कोही थिएन । आफन्तहरू श्मसानोचित आवाजमा अन्तिम मन्त्रहरू गुनगुनाइरहेका थिए ।

त्यहाँ अर्को गुन्गुनाहट, गहिरो यातनाको गुनगुन पनि थियो । नजिक आउँदा अर्को गुनगुन हामीले देख्यौं, बरण्डामा उडिरहेका झिंगाको झुण्ड । सिंढीमा बसेर सुस्ताइरहेको एक थकित पुरोहित पंखाले झिंगा धपाउँथ्यो । हामी आउँदा उसले पुलुक्क हेर्‍यो ।
‘कहाँ छन् देवकोटा ?’ हामी तीनै जनाको बोली एकैपल्ट खुस्क्यो ।

‘कवि ? मरिसके होलान् ।’ त्यो मानिस उठ्यो, हाइ काढ्यो र शय्याहरूको लहरमा आँखा दौडायो । ‘ए, नमरिरहेछन्, ऊ त्यहाँ ।’
हामी मृत्युशय्यापछि शय्याकै खुट्टाको छेउ भएर नाघ्दै गयौं । छेउ पुगेपछि गुप्ताले अडिएर, अत्यन्त झुकेर नमस्कार गर्‍यो ।

शय्यामा हाम्रो अघिल्तिर एक शरीर देब्रेपट्टि कोल्टो परेर लडिरहेको थियो, जसको शिरको माथिल्लो भाग मात्र देखिन्थ्यो । शोकको सूचनामा सारीको छेउ टाउकामा ओढेकी एक महिला (देवकोटाकी पत्नी) झिंगा धपाउन पङ्खा हम्किंदै टुक्रुक्क बसिरहेकी थिइन् ।
सुस्तरी बोल्यो गुप्ता, ‘देवकोटा साहब, देवकोटा साहब ।’

ती महिलाले देवकोटाको अनुहारबाट चादर तानिदिइन् ।
हामी शय्याको छेउमा गयौं, महिलाले हामीलाई बस्न सङ्केत गरिन् । एक हातले तिनको पङ्खा देवकोटाको अनुहारमा हल्लाई नै रहन्थ्यो, झिंगा नबसोस् भनेर । हामी टुक्रुक्क भुईंमा बस्यौं ।

हामीले जुन अनुहार देख्यौं, त्यो एउटा मुखुन्डो जस्तो थियो, जसको माथितिरबाट सुक्खा काला बाक्ला केश लर्केका थिए । केशमुन्तिर एक फराकिलो सुन्दर ललाट थियो जसको दुवै छेउका ठूला आँखा हामीलाई हेर्न अलिकति उघ्रे । आँखादेखि तलको अनुहार पूरा धस्केर गएको, गालाहरू ध्वान्द्रा जस्ता, ओठ चाउरिएर हराएको, कुनै बूढो मानिसको जस्तो । मैलो चादरभित्रबाट डन्ठी जस्ता, बालुवा रङका पाखुरा फैलँदै दुइटा लामा–लामा हात विस्तारै निस्के, नमस्कार गरे ।

आँगनको पल्लो छेउमा अर्को एउटा काठकै फाटक थियो । यहाँबाट वसुमती नदी देखियो, दुई फाँटदार बगरबीचमा ढुङ्गाहरूमाथि चढ्दै धिमा गतिमा बगिरहेको फुस्रो चिप्लो पानी । एक असाधारण, अचल र व्याप्त गन्ध। अंशमा शव पोलिएको, अंशमा फोहोरको, अंशमा मृत्युको गन्ध ।

त्यसपछि फेरि ती सुन्दर आँखाहरू बन्द भए । उनी कोल्टो परेरै निश्चल रहिरहे । उनी सास फेर्थे गहिरो कष्टपूर्ण ‘हाः हाः’ मा, प्रत्येक सासबीच एक दुर्बल चित्कार गर्थे । हामी मौन भई बसिरह्यौं । पीडाले आफूलाई कठोर बनाएकी महिला कत्ति पीडित नभई पङ्खा हम्किरहन्थिन् ।

धेरै लामो मौन अवधिपछि गुप्ताले हामीलाई परिचय गराए । आँखा फर्फराएर खुले । ती फुस्रा आँखा थिए, दहजस्तै निष्प्राण तर सुन्दर । यतितक मृत्युमा ती गैसकेका थिए । ती आघात केहीको प्रतिबिम्ब लाग्दथे, झलक्कहरूमा र एक क्षणलाई । ती नाङ्गा आँखा थिए, तैपनि आकर्षक ।

एउटा पातलो हात गुन्द्रीमा हामीतिर छाम्दै आयो । त्यो हातलाई मैले मेरो दुवै हातमा लिएँ र थिचें । हात चिसो र सुक्खा थियो । लामो मौनता फेरि छायो । त्यसपछि वेदनाको चाउरीबाट मुख सम्मिएर आयो । अत्यन्त मन्द गतिले निश्वासको सुसेलीमा त्यस मुखले भन्यो, ‘वैश्व आग्नेयता... ।’

ती महिलाले त्यही पूर्ण समर्पणसित जसले तिनका अघिका जम्मै कार्यहरू चिन्हित थिए, एउटा हरियो थर्मस फ्लास्क शय्याको सिरानबाट निकालिन् । खोलिन् र बरफको एक टुक्रा झिकिन् । कविका ओठबीचमा तिनले त्यो च्यापिदिइन् ।
उनले त्यो केहीबेर चुसिरहे, हामीलाई हेरिरहेरै । त्यसपछि साउती मिलेको स्वर निस्क्यो, ‘म वैश्व आग्नेयतामा छु... ।’

हामी कसैले केही भनेनौं । बलको आह्वानमा उनको अनुहारको मुकुन्डो फेरि बटारियो । ‘म जलिरहेको छु, यो नर्कको अग्नि जस्तो छ । केही पनि... मान्छेले यो क्यान्सर बराबरको यातना आविष्कार गरेको छैन ।’

हामी अझै मौन थियौं । उनले मलाई अतिव मन्द बोलीमा भने, ‘मैले तपाईंका कृतिहरू पढेको छु... । तपाईंको साथीको नाम पनि थाहा छ । यहाँ यो मृत्युशय्यामा यसरी तपाईंहरूसँग भेट हुनु उदेक नै हो ।’ 

‘हामी तपाईंलाई साहै्रगरी चाहन्थ्यौं सर’, मैले भनें ।

‘क्यान्सर.. यसले जलाइरहेछ मलाई, म मरिरहेछु । म जीवित भए तपाईंलाई मेरा कविताहरू देखाउने थिएँ । मेरा कविताहरू.. हेर्नुभएको छ ? समलाई भन्नु’ उनले गुप्तालाई अह्राए, ‘उहाँलाई मेरा कविताहरू दिनु ... ।’

त्यसपछि उनी मतिर फर्के, ‘मेरा कतिवटा कविताहरू मैले अनुवाद गर्न... अनुवाद गर्ने चेष्टा गरें । अनुवाद अति कठिन काम छ .... तर मैले सक्दो असल गर्ने प्रयास गरें ।’

उनका आँखा बन्द भए । उनी फेरि हामीदेखि अलिक टाढा गए, श्वासबाट पीडाका उनै दुर्बल चित्कार निस्के । महिलाले अर्को चोइटा बरफ उनको मुखमा हालिदिइन् । एकछिनपछि हामीलाई फेरि उनले हेरे ।

एउटा पातलो हात गुन्द्रीमा हामीतिर छाम्दै आयो । त्यो हातलाई मैले मेरो दुवै हातमा लिएँ र थिचें । हात चिसो र सुक्खा थियो। लामो मौनता फेरि छायो । त्यसपछि वेदनाको चाउरीबाट मुख सम्मिएर आयो । अत्यन्त मन्द गतिले निश्वासको सुसेलीमा त्यस मुखले भन्यो, ‘वैश्व आग्नेयता . ..।’

‘मसँग अब बोल्नलाई थोरै शब्द मात्र छन् ... । म ती प्रत्येकले केही भन्न चाहन्छु तर अब मैले भन्ने केही छैन । तिनीहरूले मलाई रक्त–प्रवेशण दिए, अझै केही दिन बचाइराख्छौं भन्छन् । तर म मानव रक्त पिउनुदेखि वाक्क भैसकेको छु । यहाँ म यसरी मर्न आएको छु... ।’

‘मेरा कविताहरू सार्‍है भौतिकवादी थिए... । ती साह्रै सांसारिक छन् ... तर म तिनीहरूलाई त्याग्दिनँ । म यहाँ पशुपतिको मन्दिरमा छु, म मर्दैछु । तर कहाँ–कता अझै म हुनुको एकइन्च बाँकी रहेको छ ... । एक अणु रहिरहेको छ मेरो, जसले मलाई गइहाल्न रोकिरहेको छ । म गइहाल्न पाऊँ, मेरो प्रार्थना छ । यदि भगवान पशुपतिनाथ आउने भए म मेरो खप्पर फोर्न लाउने थिएँ... ।’

उनले हामीलाई फेरि हेरे । आफ्ना आँखाले केही भन्न चाहे, सकेनन् । अनि थकित ती हलुका झिम्झिमाउँदै बन्द भए, थकितै फेरि खुले एकछिनमा ।

‘तपाईं आफ्नो अघि त्यो मान्छेको लाश देख्नुहुँदैछ... । त्यो अघि एकसय पचहत्तर पाउण्ड वजनको थियो, अहिले यो बाउन्न पाउण्डको मात्र छ ... । यो मुर्दा हो... यस देवकोटाको अझै एकइन्च रहेको छ ... एक अणु.. त्यो पनि मर्नेछ । यहाँ झुण्डिरहनु के काम, यो पीडामा यसरी ... मेरो बाटोको लागि प्रार्थना गरिदिनोस्... । प्रार्थना गरिदिनोस् देवकोटाको लागि... उसको प्राणपखेरु उडिजाओस् ।

‘मलाई कम्युनिष्ट भने तिनीहरूले म रूस गएँ भनेर.. म कवि मात्रै थिएँ... म नेपालका लेखकहरूमा सबैभन्दा अभागी हुँ... ।’

हाम्रा आँखा पहिल्यै भरिएका थिए । अब भक्कानो गलामा अड्केर फुत्किन खोज्यो । मैले गुप्तालाई हेरें । अर्कातिर फर्केर उसले गला सफा गर्‍यो ।

ऊ रोएको मैले चाल पाएँ, म रोएको उसले । वेद अघिदेखि नै एकतमासको भएको थियो (वेद देख्न सक्दैनन्) । उसले न हामीतिर हेर्न सकेको थियो, न महाकवितिर । यसबेला एक महात्मा–कविको हृदय–आघात फुट्दो थियो... । पीडाका एकएक शब्दमा जीवन र दर्शन रोइरहेको । मान्छेको निरीहताको स्पष्टोक्ति ।

हाम्रा शिर शय्यातिर घुमे । अनि त्यो अनुहारले रुन खोज्यो । ती हराएका ओठहरू बटारिए, तर सुँकसुँकाउन सकेनन् । तिनीहरू मानव कर्मदेखि उहिल्यै विच्छेद भएका थिए । खालि आँसु झरे तिनका आँखाबाट र गालाका पोखरीमा अडिए । मैले तिनको हात समातें ।

तिनले फेरि मलाई हेरे र भने, ‘आफ्ना केही कविता मलाई सुनाउनुहोस्... । मलाई... । अलिकति शान्ति अनुभव गर्न दिनुहोस् ।’
म उनको नजिकै गएँ, राम्ररी सुनुन् भनेर । विस्तारै आवृत्ति गर्न थालें ।

थालेको मात्र के थिएँ उताको कुनै शय्याबाट महिलाको उच्च, पीडापूरित रोदन फुटेर आयो, भित्ताहरूमा ठोक्किंदै । कोही गयो ।
देवकोटाले केही ध्यानै दिएनन् । अर्धमुदित नजर ममा राखेर तिनले सुस्तरी भने, ‘सुनाउनुहोस् ।’

म मनमनै अचेतनमै भन्दै रहेछु– हे ईश्वर, यी महा–आत्मालाई किन यत्रो पीडा दिन्छौ, सिमलको भुवा जस्तै आफ्नो काखमा राखिदेऊ वा अलिकति हाम्रो उमेर हालिदेऊ । ‘एशियाका महान कवि... ।’ गुप्ता आफैंसँग सुँकसुँकायो, उठ्तै ।

म, आवृत्ति गर्दै गएँ । मैले सुनाइसकेपछि उनले गहिरो निश्वास लिए । मेरो पछिल्तिर अघि मर्नेका आफन्तहरू शवलाई जलाउन घाटतिर बाहिर लान थाले । देवकोटा मेरो एक हरफ दोहोर्‍याउँदै थिए– आइ ह्याभ ग्रोन अप, आइ थिंक, टु लिभ अलोन...’
त्यसपछि बल जम्मा गरेर, ‘अर्को सुनाउनुहोस् ।’

‘अल्मोस्ट आइ क्यान रिकल ह्वेर आइ वाज बर्न....।’

जब मैले सुनाइसकेथें, ‘तपाईं म भन्दा धेरै नै प्राकृतिक कवि हुनुहुँदोरहेछ ... । म सधैं ज्यादै यान्त्रिक रहें... । ज्यादै व्यावसायिक... । समय नै सधैं थोर थियो ।’

अनि मात्रै यसपल्ट उनले हाँस्न खोजे –‘उड यु पार्डन मी फर द्याट ?’

गुप्ताले मेरो कुम छोएर भन्यो, ‘तिम्रो जहाज । अब ठिक्क समय मात्रै छ । उसो त यहाँबाट नजिकै हो एअरपोर्ट ।’ 

उसले देवकोटासँग भन्यो, ‘यिनीहरूलाई जानैपर्छ । आजै कलकत्ता उड्दैछन् ।’

देवकोटाले सुस्तरी बोले, ‘बस्नुहुन्न कि तपाईंहरू.. तपाईं दुई लेखकहरू.. म जाउन्जेल बसिदिनुहुन्न कि ? म मरुन्जेल ? म छिटै....’
अनि असहाय भएर मैले भनें, विस्तारै, ‘हामीलाई जानै पर्नेछ ।’

फेरि त्यो मुहार कम्पित भयो, रुन खोजेर । दुवै ओठ त्यसपछि सँगै हल्लिए । मेरो पथका निम्ति शुभाशिष दिनोस्,’ देवकोटाले भने, ‘तपाईंहरूका निम्ति मेरो छ... जानुहोस् त्यसो रहेछ भने... ।’

वेद र म दुवैले निहुरेर उनका निधारमा म्वाई खायौं, उनको निधार उनको हात जस्तै थियो, चिसो भैसकेको । ठूलो प्रयत्नले आशिषदानमा उनले आफ्ना दुई हात उठाए ।

‘मेरोनिम्ति प्रार्थना गर्नुहोला ।’ देवकोटाको मन्द आवाजले म झस्किएँ ।
म मनमनै अचेतनमै भन्दै रहेछु– हे ईश्वर, यी महा–आत्मालाई किन यत्रो पीडा दिन्छौ, सिमलको भुवाजस्तै आफ्नो काखमा राखिदेऊ वा अलिकति हाम्रो उमेर हालिदेऊ । ‘एशियाका महान कवि... ।’ गुप्ता आफैंसँग सुँकसुँकायो, उठ्तै ।

हामी त्यस ठाउँबाट निस्केर आयौं, लर्खरिंदै जीपसम्म । तिर्मिराएका मेरा आँखाले बाहिरका कुनै चिज ठम्याउन सकिरहेका थिएनन् । वसुमतीदेखी चिताबाट आएको धुवाँको मुस्लो नाकमा हल्का ठोक्किंदै आकाशतिर उक्लिरहेको थियो ।
गुप्ता आफ्ना रुन्चे वाक्य पूरा गर्न एअरपोर्टसम्मै संघर्ष गर्दै थियो ।

 

प्रतिकृया दिनुहोस