नेकपा र सरकारलाई बदनाम गराउने तत्व सक्रियः दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरूलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताएका छन् ।
आइतबार नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको मध्यपुर थिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यार्पण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेकपा र वर्तमान सरकारलाई बदनाम गराउने तत्व सक्रिय भएको बताए ।
उनले सरकार पटक–पटक फेरिने प्रक्रियाको अब अन्त्य हुने चर्चा गर्दै मुलुक राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको उल्लेख गरे ।
सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै सामाजिक रूपान्तरण हुने प्रक्रिया अगाडि बढेको दाहालको भनाइ थियो।