कला/साहित्यशनिबार, ९ कार्तिक , २०७६

'नेताकाे चाकडीमा सिस्नुपानीकाे द्याैसीभैलाे सारियाे'

हिमालखबर

यमपञ्चकको अवसरमा सिस्नुपानी नेपालले हरेक वर्ष कागतिहारका दिन खेल्दै आएको व्यङ्ग्यात्मक देउसी कार्यक्रम भोलिलाई सारिएको छ।

कार्यक्रम सारिएपछि नेताहरुको चाकडी गर्न कार्यक्रम सारिएको हास्यव्यंग्य कवि शैलेन्द्र सिंखडाले आरोप लगाएका छन् । यो वर्षको सिस्नुपानीको देउसी कार्यक्रममा शैलेन्द्रको प्रस्तुति अचानक हटाइएसँगै विभिन्न खालका प्रतिक्रिया आउन थालेका छन् ।

शुरुमा तयारी गर्न लगाएर तयारी पूरा भएपछि टंक आचार्यले यसपटकमा तपाईंको प्रस्तुति नअटाएको भनेर जानकारी दिएको सिंखडा बताउँछन् ।

भन्छन्, "मेरो प्रस्तुति हुँदा नेताहरु आउन नमान्ने कारण मेरो प्रस्तुति हटाइएको बुझेको छु । तर, टंकजीले कुरा चपाउनुभयो हटाउनुको कारण स्पष्ट भन्नुभएन ।"

उनी आफ्नो प्रस्तुतिलाई हटाइनु र आजको कार्यक्रम भोलि सार्नुको कारण नेताहरुको चाकडी नै हो भन्दै प्रतिप्रश्न गर्छन्, "यतिका वर्षदेखि यमपञ्चकमा हुने कार्यक्रम भोलि सार्नुको कारण भोलि मात्रै प्रधानमन्त्री आउनु हाे । नभए अरु कारण के छ ? यसले स्पष्ट पार्छ नेताहरुको चाकडी ।"

सिस्नुपानी नेपालले सिंखडालाई आफ्नो प्रस्तुति दिनका लागि लगातार दुई\तीन वर्ष पछि लागेको र अहिले आएर अचानक प्रस्तुति रोक्नु र स्पष्ट कारण पनि नदेखाउनु आश्चर्यजनक रहेको बताएका छन् ।

उनले सिस्नुपानी देउसी कार्यक्रममा आफ्नो प्रस्तुति दिन नपाए पनि विभिन्न माध्यमबाट कार्यक्रमका लागि तयार पारेको सामग्री प्रस्तुत गर्ने बताए ।

प्रतिकृया दिनुहोस