कला/साहित्यशनिबार, ९ कार्तिक , २०७६

टौदहका प्रेमिल हाँस

शुष्मा बराली

“यहाँ जिरो माइल कता पर्छ ?” सञ्जीव उप्रेतीको घर खोज्नेहरुले मालीगाउँ पुगेपछि सोध्ने प्रश्न हो, यो । ४० वर्षअघि गेटमा लेखिएको ‘जिरो माइल’ उप्रेतीको घरको पहिचान भएको छ । “मान्छे जहाँ पुगे पनि फर्केर आउने अन्तिम गन्तव्य घर नै हो,” उप्रेती भन्छन्, “गन्तव्यको अन्त्यलाई बुझाउन घरको नाम जिरो माइल राखेको हुँ ।”

ठूलो कम्पाउण्डमा लगाइएका विभिन्न वनस्पती र फूल पछ्याउँदै बिहानै आइपुग्छन् चरा । हरेक बिहान र बेलुका चरा नियाल्न रमाइलो लाग्छ उनलाई । तर, फुर्सद नै कहाँ ? उनी बाइक चढेर शिवपुरी, टौदह, रानीबारी लगायत काठमाडौं वरिपरिका डाँडा पुगिरहन्छन् । अचेल भने घरमा नै समय बिताउँदा फूल, चरा र वनस्पती नै साथी भएका छन् । “यहाँ आउने चराहरुका कुरा सुन्छु, बुझ्ने र बात मार्ने कोसिस गर्छु,” उनी भन्छन् ।

अंग्रेजीका प्राध्यापक उप्रेती विश्वविद्यालयबाट अवकाश पाएपछि पूर्णकालीन लेखक भएका छन् । भर्खरै मात्र उनको दास्रो उपन्यास ‘हंस’ प्रकाशित भएको छ । अघिल्लो उपन्यास ‘घनचक्कर’ ले पनि राम्रै चर्चा पाएको थियो । त्यसपछि भने गैरआख्यानतिर लागे । दुई पुस्तक ‘सिद्धान्तका कुरा’ र ‘मकैको अर्कै खेती’ लेखे । नाटक ‘मकैको अर्कै खेती’ मञ्चन हुँदा उनले पनि अभिनय गरे । त्यसअघि ‘न्याय प्रेमी’ र ‘सपनाको साबिती’ नाटकमा अभिनय गरिसकेका थिए ।

‘सिद्धान्तका कुरा’ पुस्तकमा उनले घोषणा गरेका थिए– अर्को उपन्यासमा हाँसको कथा हुनेछ । त्यही हाँसको कथालाई उनले ‘हंस’ नाम राखे । यो उपन्यासमा प्रायः नदीको विषय उठान भएको उनी बताउँछन् । उनी हंसलाई आत्मा र हाँस दुवैको अर्थमा समेत प्रयोग गरेको बताउँछन् ।

“घनचक्करका पाठकलाई लाग्न सक्छ कि हंसले पनि उसैगरी मस्तिष्क रन्थनाउने त होइन ? अधिकांशले सोध्नु पनि भयो,” उनी भन्छन्, “हंस नितान्त फरक उपन्यास हो, एक बसाइमा पढ्न सकिन्छ । यसमा आत्मा र हाँसलाई जोड्ने कोसिस गरेको छु ।”

सन् २००६ मा उनी घनचक्करको पुनर्लेखनका लागि टौदह, शिवपुरी, रानीवन लगायत ठाउँका पोखरी र नदी भौंतारिए । ती पोखरीमा भेटिएका हाँस र अन्य चराहरुले केही लेख्न प्रेरित गरेका थिए । “चराहरु आपसमा कसरी संवाद गर्छन् होला ? संसार कस्तो हुन्छ होला भन्ने प्रश्न गर्दैगर्दा प्राकृतिक संरचनासँगको सामिप्यपछि हंसको जन्म भयो,” उनी भन्छन् ।

जाडो महीनामा साइबेरिया, मन्चुरिया, चीनबाट आगन्तुक चरा नेपाल आउँछन् । उपन्यासको मुख्य पात्र भने टौदहका रैथाने हाँस र उसकी प्रेमिका हंसिनी हुन् । उपन्यासमा उनीहरुबीच प्रेमिल संवाद त छ नै हाँसले नै बोल्ने ‘क्याँक क्याँक’, ‘कोंककोंक’ जस्ता शब्दको प्रयोग पनि छ । टौदहमा विभिन्न आगन्तुक चरा आउँछन् । हजारौं माइलसम्म उड्न सक्ने आगन्तुक हाँस पनि आउँछन् । आगन्तुक र रैथाने हाँसका क्रियाकलापलाई उपन्यासमा बुनेको उप्रेती बताउँछन् ।

यो उपन्यास लेख्न थालेपछि उनी अट्लान्टिक, प्रशान्त महासागर पुगे । इन्डिोनेसियाको बालीस्थित हिन्द र प्रशान्त महासागर जोडिएको ठाउँ पनि पुगे । झापाको बिरिङ र फूलमती खोला छेउ बसेर पनि लेखे । उनलाई पानीको स्वभाव बुझ्नु थियो । “हरेक संवादमा पानीको प्रयोग गरेको छु,” उनी भन्छन् ।

‘हंस’ मा उनले प्रकृतिलाई नै चुनौती दिएका छन् । चराचुरुङ्गीले एक–आपसका भाषा बुझ्छन्, आपसी सद्भाव देखाउँछन् । तर, मान्छे त्यो स्तरमा छैन । “यथार्थमा पनि हामी मानिसहरु स्वार्थी छौँ, मौखिक रुपमा एक अर्काको भाषा बुझ्छौं तर, भावनात्मक रुपमा आत्मीयता बुझ्न सक्दैनौं,” उनी भन्छन् । हंसमा मानव र पक्षीबीचको सम्बन्धलाई पनि प्रस्तुत गरेको उनी बताउँछन् ।

संसारलाई चलायमान बनाइराख्न मानव जातिको जति भूमिका छ उत्ति नै भूमिका वनस्पती र पशुपक्षीको पनि छ । वनस्पती र अन्य पशुपक्षी भएर मानवको पनि अस्तित्व रहिरहेको हो । त्यसैले चराहरुबारे बुझ्नु भनेको मानव समाजलाई पनि बुझ्नु हो । “संसारमा चराहरु जस्तो स्वतन्त्र प्राणी अरु कुनै छैन, कुनै निश्चित क्षेत्र, सीमाले बाँधेर राख्न सक्दैन, मनले चाहे आफ्ना प्रेमीलाई भेट्न हजारौं माइल समेत उड्न सक्छ, हंसमा भएको हंसिनी जस्तै” सञ्जीव भन्छन् ।

प्रतिकृया दिनुहोस