कास्की २ मा रवीन्द्र पत्नी विद्याको नाम सर्वसम्मत
आगामी १४ मंसीरमा हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा नेकपा कास्कीले विद्या भट्टराईको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
नेकपा जिल्ला कमिटी बैठकले भट्टराईको मात्रै नाम सर्वसम्मत सिफारिस गरेको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले बताए ।
उनी सोही क्षेत्रबाट निर्वाचित सांसद एवं तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीकी श्रीमती हुन् । नेता अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।
अधिकारीको निधनका कारण खाली भएको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
शुक्रबार नेकपा कास्कीले कास्की २ मा विद्या भट्टराईलाई उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेको हो ।
आकांक्षी धेरै भएपनि रवीन्द्र पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने शर्तमा सबैले दाबी आफ्नो दाबी छाडेका थिए ।