आलमलाई आठ दिन म्याद थप
रौतहट जिल्ला अदालतले राजपुर बमकाण्डका मुख्य आरोपी सांसद महम्मद आफताब आलमलाई थप आठ दिन नियन्त्रणमा राखेर अनुसन्धान गर्न म्याद थपेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आलमलाई शुक्रबार अदालतमा पेश गरेपछि आठ दिन म्याद थपेको हो ।
अनुसन्धान कार्य भइरहेको र अनुसन्धानमा धेरै काम गर्न अझै बाँकी रहेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय रौतहटले अदालतलाई म्याद थप गर्न आग्रह गरेको थियो ।
अदालतले आठ दिन म्याद थप गर्ने निर्णय गरेपछि सञ्चारकर्मीसित संक्षिप्त प्रतिक्रिया दिँदै आलमले राजनीतिक प्रतिशोध लिन हुँदै नभएको घटनामा आफूलाई पक्राउ गरिएको बताएका छन् ।
आलमलाई तेस्रोपटक म्याद थपका लागि शुक्रबार अदालतमा पेश गरिएको हो । २६ असोजमा पक्राउ गरिएपछि प्रहरी नियन्त्रणमा रहेका आलमले अनुसन्धानमा खासै सहयोग नगरेकाले अनुसन्धान लम्बिएको प्रहरीको जिकिर रहेको छ ।
सांसद आलमलाई म्याद थपका लागि तेस्रोपटक अदालतमा पेश गरिने दिन नेपाली कांग्रेस रौतहटले सदरमुकाम गौरमा मौन जुलुस प्रदर्शन गरेको छ ।
सांसद आलमको रिहाइको माग गर्दै गरिएको प्रदर्शनमा हजारौंले सहभागिता जनाएका छन् । सांसद आलम निर्दोष रहेको प्रदर्शनकारीको भनाइ छ ।
यसैबीच राजपुर बमकाण्डका भारतीय पीडितसित प्रहरीले सम्पर्क स्थापित गरिरहेको छ । बमकाण्डमा मारिएका भनिएका भारतीयका आफन्त र घटनाका घाइतेसित प्रहरीले सम्पर्कको प्रयास गरिरहेको छ । घटनामा दुई नेपाली र छजना भारतीयको मृत्यु भएको भनिएको थियो ।
बमकाण्डका एकजना प्रत्यक्षदर्शी एवम् घाइते सर्लाही गोडैता नपा २ का सफिक महम्मदको उपचार भारतको मोतिहारीमा भएको थियो । महम्मदको उपचार भएको अस्पतालमा अन्य केही घाइतेको पनि उपचार गरिएको थियो ।
घटना भएको लामो समय बितिसकेकाले घटनाका पीडित आफन्त र घाइतेसित सम्पर्क गर्न प्रहरीलाई केही अप्ठ्यारो परेको छ तर बमकाण्डमा मारिएका नेपालीका आफन्त, घटनाका घाइते तथा प्रत्यक्षदर्शीसमेतको सहयोग लिएर रौतहट प्रहरी भारतीय मृतकका आफन्त एवम् घाइतेसित सम्पर्क गर्ने प्रयास गरिरहेको छ ।
२६ असोजमा पक्राउ परेका सांसद आलमले पोलिग्राफ परीक्षण गर्न नमानेको र घटना हुँदै नभएको बताएपछि प्रहरीले घटनालाई पुष्टि गर्ने विभिन्न बलियो प्रमाणको खोजीको क्रममा भारतीय पीडित परिवारसित सम्पर्कको प्रयास पनि थालेको हो ।