उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा
चितवन नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको छ । भरतपुर महानगरपालिका–१६ तथा खैरहनी नगरपालिका–४ र ५ मा आगामी १४ मंसीरमा हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
महामन्त्री शशाङ्क कोइरालाको उपस्थितिमा भरतपुर महानगरपालिका–१६ ठूलोगढी र खैरहनी नगरपालिकाको पर्सामा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गरिएको हो ।
कार्यक्रममा केन्द्रीय सदस्य जीवन परियार, काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी, निवर्तमान जिल्ला सभापति टेकप्रसाद गुरुङ, पूर्वसभापति रामकृष्ण घिमिरेलगायत सहभागी थिए ।
भरतपुर महानगरपालिका–१६ को अध्यक्षमा अमृत हमाल, खैरहनी नगरपालिका–४ को वडाध्यक्षमा देवबहादुर बस्नेत र वडा नं ५ को वडाध्यक्षमा प्रतिमा कार्की बस्नेतलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको छ ।
भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरुङको क्यान्सर रोगका कारण तथा खैरहनी नगरपालिकाका–४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र वडा नं ५ का वडाध्यक्ष विश्व विजय बस्नेतको नगरपालिकाको कामको सिलसिलामा दुर्घटनामा परी निधन भएको थियो ।