समाचार शुक्रबार, कात्तिक ८, २०७६

वैज्ञानिक भाडादर निर्धारण गर्न अध्ययन शुरु

रासस

सरकारले सार्वजनिक यातायातको भाडादर निर्धारणलाई वैज्ञानिक बनाउन अध्ययन शुरु गरेको छ ।

अहिलेसम्म ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत जनशक्ति वापत लाग्ने खर्च र सवारीसाधनमा प्रयोग हुने उपकरण लगायतलाई आधार बनाएर भाडादर निर्धारण हुँदै आएकामा यही आधार ठीक हो–होइन भनी निक्र्योल गर्न अध्ययन थालिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

एक दशक पहिलेदेखि शुरु भएको भाडादरको आधारमा पुनरवलोकन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने, “केही महीनाभित्रमा त्यसको अध्ययन हुनेछ ।”

अहिलेसम्म सरकारले १८ सूचकलाई आधार बनाएर भाडा निर्धारण गर्दै आएको थियो । ती सूचकहरू बढ्न वा घट्न सक्ने उनको भनाइ थियो । भाडा निर्धारण सूचकमा पुनरवलोकन भएपछि मात्रै भाडा समायोजन गरिने महानिर्देशक हमालले बताए ।

यातायात व्यवसायी महासंघले सरकारले समय–समयमा भाडा समायोजन गर्नुपर्नेमा जोड दिँदै आएको थियो । पेट्रोलियम पदार्थका मूल्यलाई आधार बनाएर भाडा समायोजन भए पनि सवारी साधनका उपकरण र जनशक्तिको सुविधाका आधारमा लामो समयसम्म भाडादर समायोजन हुन नसकेको बताइएको छ ।

प्रतिकृया दिनुहोस